कोरोनाभाइरसको प्रभावले रेमिट्यान्समा आधा भन्दा कमको गिरावट

जेठ ५, काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) को प्रभावले रेमिट्यान्समा आधा भन्दा कमको गिरावट आएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चैत महिनामा नेपाल भित्रिने विदेशी आप्रवाहमा ५६.४७ प्रतिशतले गिरावट आएको हो ।
चालु आर्थिक वर्षको चैत महिनामा ३४ अर्ब ४८ करोड रुपैंया बराबरको रेमिट्यान्स नेपाल भित्रिएको थियो । जबकी फागुन महिनामा कुल ७९ अर्ब २१ करोड रुपैंया बराबर रेमिट्यान्स आएको थियो । चैत महिनामा रेमिट्यान्समा आउको गिरावटका कारण वार्षिक विन्दुगत रुपमा आएको रेमिट्यान्स आप्रवाह समेत घटेको छ । चैत मसान्तसम्म कुल ७१३ अर्ब ११ करोड रुपैंयाको रेमिट्यान्स आएको थियो । अघिल्लो वर्षको चैत महिनासम्म ७४५ अर्ब ९३ करोड रुपैंया बराबरको रेमिट्यान्स नेपाल भित्रिएको थियो । यो गिरावट करिब ४.४ प्रतिशतको हो । अघिल्लो वर्षको चैत महिनासम्म रेमिट्यान्स करिब २० प्रतिशतले बढेको थियो ।
नेपालमा चैत ११ गतेदेखि लकडाउन भएको हो । १० गतेसम्म नियमित रुपमा रेमिट्यान्स आइरहेको अवस्थामा समेत रेमिट्यान्समा ५६ प्रतिशत भन्दा बढीको गिरावट आउनुले बैशाख महिनामा यस्तो रेमिट्यान्स झनै घट्ने देखिन्छ । चैत महिनामा रेमिट्यान्स आप्रवाह कम हुनुको मुख्य कारण भने लकडाउनका कारण रेमिट्यान्ससम्बन्धी गतिविधिमा भएको प्रभाव हो । तर, रोजगार गन्तव्यहरुमा श्रम गरिरहेकाहरु रोजगारी गुम्दै गएकोले रेमिट्यान्समा स्थायी रुपमै गिरावट आउने सम्भावना विज्ञहरु औंल्याउँछन् ।
रेमिट्यान्स आप्रवाह घटे पनि देशको शोधनान्तर अवस्था भने यो अवधिमा बढेको छ । विदेशबाट आउने अत्यावश्यक बाहेकका सामाग्रीको आयात ठप्प हुँदा यो अवधिमा शोधनान्तर अवस्था सन्तुलनमा रहेको हो । चैत महिनामा नेपालमा आउने विदेशी मुद्रा भन्दा नेपालबाट बाहिरिने विदेशी मुद्रा ३६ अर्ब ६१ करोड रुपैंयाले कम छ । यसले गर्दा विदेशी मुद्र सिञ्चिति बढेर ११५५ अर्ब ९० करोड रुपैंया पुगेको छ । यो सिञ्चितिमा विदेशी मुद्राको विनिमय दरले समेत प्रभाव भने पार्छ । यो सिञ्चितिले १०.७ महिनाको वस्तु तथा ९.५ महिनाको वस्तु तथा सेवाको आयात धान्न सक्ने अवस्था रहेको राष्ट्र बैंकले जनाएको छ ।
यो अवधिमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने कामदारको संख्याभने १०.२ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ । अघिल्लो वर्ष यो दर ३७.५ प्रतिशतले घटेको थियो ।

सम्बन्धित खबर

Leave a Comment