सर्वसाधारणलाई निक्षेपको ब्याज घट्दा मर्का

जेठ ९, काठमाडौं । लकडाउन लम्बिँदै जाँदा यतिबेला मुलुकको अर्थतन्त्रमा चुनौती पनि थपिँदै गएको छ । उद्योग–व्यवसाय धराशायी बनेको भन्दै निजी क्षेत्रले बैंकबाट लिएको कर्जाको ब्याजमा सहुलियत मागिरहेका छन् । गत सोमबार नेपाल उद्योग वाणिज्य महासंघले पत्रकार सम्मेलन नै गरेर कर्जाको ब्याजमा ५ प्रतिशत सहुलियतको माग राखेको छ । नेपाल राष्ट्र बैंकले चौथो त्रैमासको ब्याजमा २ प्रतिशत सहुलियत दिन बैंकहरुलाई निर्देशन दिएको छ भने चैतमा तिर्ने ऋण असारमा तिरे हुने नियम बनाइदिएको छ । राष्ट्र बैंकले कर्जाको ब्याज २ प्रतिशतले घटाउन भने पनि निजी क्षेत्र यसले सन्तुष्ट हुन भने सकेको छैन । उता बैंकहरुले भने कर्जाको ब्याज (आफूले लिनुपर्ने) घट्ने भएपछि निक्षेपको ब्याजदर (आफूले दिनुपर्ने) पनि घटाउन शुरु गरेका छन् ।
बैंक लगानी योग्य रकम अभाव भएका बेला बैंकहरुले निक्षेपमा सर्वसाधारणलाई आकर्षण ब्याज दिन्छन् । तर, यतिबेला बैंकमा लगानी योग्य रकम पर्याप्त भएका कारण पनि बैंकहरुले निक्षेप तान्नका लागि आकर्षक ब्याज होइन, कायम भएको ब्याज पनि घटाउने तरखर गरेका छन् । ‘हामीले सर्वसाधारणको बचत दिएर लगानी गर्ने हो’ एक वाणिज्य बैंकका सीईओ भन्छन्, ‘अहिले कर्जाको माग पर्याप्त नभएकाले कर्जाको ब्याज राष्ट्र बैंकले नभने पनि घटिहाल्छ, कर्जाको ब्याज घटेपछि हामीले निक्षेप पनि त महंगोमा लिन सक्दैनौं ।’ महंगोमा निक्षेप लिए, कर्जा पनि महंगो ब्याजदरमा लगानी गर्नुपर्ने भएकाले निक्षेपको ब्याज घटाउनु पर्ने अवस्थामा बैंकहरु पुगेको ती सीईओ बताउँछन् । यसरी बैंकले दिने निक्षेपको ब्याजदर घट्दा समस्यामा सर्वसाधारण समस्यामा परेका छन् ।
पूर्व बैंकर अनलराज भट्टराई बैंकले निक्षेपको ब्याजदर घटाउदा ठूलो संख्यामा रहेका सर्वसाधारणहरुलाई असर पर्ने बताउछन् । बैंकमा निक्षेप राख्ने र त्यसबापत प्राप्त भएको ब्याजले गुजारा चलाउने गरेको एउटा समुदाय नै भएको भन्दै उनले निक्षेपको ब्याज घट्दा उनीहरु समस्यामा पर्ने बताउछन् । बैंकमा निक्षेप दुई किसिमकाले राख्छन्, एउटा व्यक्तिगत अर्को संस्थागत । भट्टराई भन्छन्, ‘व्यक्तिगतमा पनि कोही नियमित तलब लगायतका आम्दानीमात्रै राख्छन् भने अर्को अन्य क्षेत्रमा जोखिम नलिने र बैंकमा निक्षेप राखेर नियमित आम्दानीको रुपमा प्रयोग गर्ने हुन्छन्, ब्याज घट्दा उनीहरुको आम्दानी घट्छ । समस्यामा पर्छन ।’ भट्टराई बैंकको नेतृत्वमा हुँदा मासिक ब्याज दिने योजना ल्याएको र त्यो योजनाका कारण धेरै निक्षेप आएको उनको अनुभव छ । ब्याज आम्दानीले नै जीवन चलाउनेहरु धेरै भएको उनी बताउछन् ।
अर्को भनेको संस्थागत निक्षेपकर्ता हुन् । संस्थागत निक्षेपकर्ताहरुमा बीमा कम्पनीहरु, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, म्युचुअल फन्ड लगायत हुन् । म्युचुअल फण्डले तरल सम्पत्तिको रुपमा बैंकमा रकम जम्मा गर्नै पर्ने बाध्यकारी व्यवस्था छ । बैंकको ब्याज कम हुँदा व्यक्तिगतमात्रै होइन यी संस्थाहरुलाई समेत समस्या पर्छ ।
निक्षेपको ब्याजदर
चैत महिनादेखि निक्षेपको ब्याजदर घट्न शुरु भइसकेको वाणिज्य बैंकका सीईओहरुको छाता संगठन नेपाल बैंकर्स बताउँछ । संघ स्रोतले दिएको जानकारी अनुसार निक्षेपको ब्याजदर १.५ प्रतिशतसम्म घटिसकेको छ ।
अहिले बैंकहरुले व्यक्तिगत मुद्धति निक्षेपमा ८ दशमलव २५ प्रतिशत ब्याज दिइरहेका छन् । संस्थागतको हकमा भने ७ प्रतिशतमात्रै दिएका छन् भने बचतमा ५.७५ प्रतिशतसम्ममात्रै बैंकहरुले ब्याज दिने गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २०७६ चैतमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ६.७४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा निक्षेपको भारित औसत दर ६.६७ प्रतिशत थियो ।
चैतयता थपियो ७९ अर्ब
वाणिज्य बैंकहरुमा मात्रै चैत महिना यता ७९ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार चैत १ गतेसम्म वाणिज्य बैंकहरुमा ३१ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप जम्मा थियो । ११ जेठमा लकडाउन शुरु भयो तर निक्षेप जम्मा हुने क्रम भने जारी नै रह्यो । १ चैतदेखि २ जेठसम्म आइपुग्दा ७९ अर्ब रुपैयाँले बढेर ३२ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप जम्मा भएको संघले जानकारी दिएको छ ।
यसको मतलव बैंकमा निक्षेप जम्मा हुने क्रम रोकिएको छ । बैंकहरुले लकडाउनकै अवधिमा पनि सेवा जारी राखेकाले निक्षेप सुधार नै भएको छ । यद्यपि, निक्षेपको वृद्धिदरमा भने केहि ह्रास आएको राष्ट्र बैंकको तथ्यांकले देखाउछ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ९.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १०.६ प्रतिशतले बढेको थियो । २०७६ चैत मसान्तमा चल्ती, बचत र मुद्दतीको कुल निक्षेपमा क्रमशः ८.५ प्रतिशत, ३२.२ प्रतिशत र ४९.३ प्रतिशत अंश रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ८.६ प्रतिशत, ३३.६ प्रतिशत र ४७.३ प्रतिशत रहेको थियो ।
२०७६ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४.४ प्रतिशत रहेको छ । २०७५ चैत मसान्तमा यस्तो निक्षेपको अंश ४५.२ प्रतिशत रहेको थियो ।

सम्बन्धित खबर

Leave a Comment