ओलीको उद्घोष : ‘जबसम्म शारिरिक रुपमा सक्छु, तबसम्म नेतृत्व छोड्दिन

08 October, 2025 143 Views
ओलीको उद्घोष :  ‘जबसम्म शारिरिक रुपमा सक्छु, तबसम्म नेतृत्व छोड्दिन
143

असोज, काठमाडौं। नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले तत्कालै नेतृत्व नछाड्ने बताएका छन्। पार्टीभित्र नेतृत्व छाड्न दबाब आइरहेका बेला ओलीले भर्चुअल रूपमा जिल्ला अध्यक्षहरूलाई सम्बोधन गर्दै तत्काल नेतृत्व नछाड्ने बताएका हुन्।  उनले आफूसँग अडान, विचार र दृष्टिकोण राख्ने सामर्थ्य हुँदासम्म पार्टी नेतृत्व नछाड्ने संकेत गरेको एक नेताले बताए। जेन–जी विद्रोहका कारण सत्ताच्युत भएपछि ओली अहिले गुन्डुमा डेरा गरी बसेका छन्। पार्टीका गतिविधि पनि गुन्डुस्थिति आफ्नै निवासबाट गरिरहेका छन्।

ओलीले सचिवालय र केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा मंगलबार गण्डकी प्रदेश इन्चार्ज, प्रदेश अध्यक्ष र जिल्ला अध्यक्षहरूलाई भर्चुअल रूपमा सम्बोधन गरेका थिए। उनले प्रदेश प्रदेशका इन्चार्ज र जिल्ला अध्यक्षहरूलाई भर्चुअल रूपमा छुट्टाछुट्टै सम्बोधन गरिरहेका छन्।

एमालेको सचिवालय बैठक यही असोज २४ र २५ गते बोलाइएको छ। केन्द्रीय कमिटी बैठक २७, २८, २९ गते बस्दैछ। भर्चुअल सम्बोधनका क्रममा उनले आफू, एमाले र देशविरूद्ध नै षड्यन्त्र भएको बताउँदै भदौ २३ र २४ को जेनजी आन्दोलन षड्यन्त्रकै उपज भएको बताएका थिए। आफूलाई सत्ताबाट हट्न बाध्य गराइए पनि आफू देश र जनताको पक्षमा अविच्छिन्न हिसाबले क्रियाशील रहेको बताउँदै पार्टी, आन्दोलन, पार्टीका विचार र दृष्टिकोणको शिर झुक्न नदिने उनले बताए।

‘पार्टीको शिर निहुरन कहिले पनि दिन्नँ, सक्रियताको हिसाबले दिन्नँ, इमानले दिन्नँ, विचारले दिन्नँ,’ उनको स्पष्ट सन्देश थियो। उनले अगाडि भने,  ‘कुनै हिसाबले पनि शिर झुक्न दिन्नँ। अडानको हिसाबले, दृष्टिकोणको हिसाबले कुनै पनि हिसाबले महसुस हुन दिन्नँ,’ उनले भने।

उनले शारीरिक रूपमा सक्षम रहँदासम्म अडान र नेतृत्व नछाड्ने पनि बताए। ‘जबसम्म म सक्छु, तबसम्म, सक्न छाडेपछि छोड्दिन्छु,’ उनले भनेका थिए। अध्यक्ष ओलीले पार्टीभित्र पुनर्गठन, नेतृत्व हस्तान्तरण, पुस्तान्तरणबारे नचाहिने हल्ला भइरहेको समेत बताए। ती कुरा पार्टीका उपयुक्त फोरममार्फत् निरूपण गरिने पनि उनले बताएका थिए।

Related Post