युके र अष्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

16 November, 2025 121 Views
युके र अष्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
121

कात्तिक, काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। युके र अष्ट्रेलिया पठाइदिने भन्दै रकम उठाएर फरार रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले विभिन्न स्थानबाट पक्राउ गरेको हो।

पक्राउ परेका व्यक्तिहरूमा ललितपुर महानगरपालिका–४ बस्ने, बारा जीतपुरसिमरा उपमहानगरपालिका–५ घर भएका ३१ वर्षीय मनोहर चौधरी र काठमाडौं महानगरपालिका–१३ बस्ने, प्युठान गौमुखी गाउँपालिका–४ घर भएका २२ वर्षीय मेघराज सुनार रहेका छन्।

प्रहरीका अनुसार मनोहर चौधरीले युके पठाइदिने भन्दै एक पीडितबाट ८ लाख ५० हजार रुपैयाँ उठाएर सम्पर्कविहीन भएका थिए। त्यस्तै, मेघराज सुनारले अष्ट्रेलिया पठाइदिने भन्दै अर्को एक पीडितबाट २८ लाख रुपैयाँ लिई फरार भएको उजुरी परेको थियो।

उक्त उजुरीका आधारमा मनोहरलाई बिहीबार काठमाडौं महानगरपालिका–१० बाट र मेघराजलाई शुक्रबार काठमाडौं महानगरपालिका–२९ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। दुवैजनालाई आवश्यक अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जानकारी दिएको छ।

Related Post