नेकपाले यो सरकारको विकल्प खोजोस्, नत्र जनताले खोज्छन् : ढुंगाना

Slide adventures BUN
JUNGLE
Slide escape from the city Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

४६ बर्षिय राजीव ढुंगाना अहिले नेपाली काँग्रेसको भात्रृसंगठन नेपाल विद्यार्थी संघको अध्यक्ष छन् । नैनसिंह महरको नेतृत्व विघटन भएपछि सभापति शेरबहादुर देउवाले ढुंगानालाई मनोनयनबाट सिधै अध्यक्ष पदमा ल्याएका हुन् । नेपाली काँग्रेस संबद्ध राजनीतिमा २८ बर्षको यात्रा तय गरिसकेका ढुंगानालाई छिट्टै नेविसंघको १२ औं महाधिवेशन गराउनुपर्ने जिम्मा छ । जहाँ ३२ वर्ष नकाटेकाले मात्र नेपाल विद्यार्थी संघको नेतृत्व गर्न पाउने छन् । यहाँ नेविसंघ अध्यक्ष राजीव ढुंगानासंग यस सिम्रिक खबरका निराजन उपाध्याय ले गरेको अन्तर्वार्ता प्रस्तुत गरिएको छ ।

कहाँ छ नेपाल विद्यार्थी संघ, धेरै कम देखिन्छ अनि निकै कम सुनिन्छ ?

 

नेपाल विद्यार्थी संघ विद्यार्थीहरुको माझ छ । स्कुल कलेज लगायतका शैक्षिक संस्थाहरुमै छ । कम देखिने र कम सुनिने भन्ने कुरामा चाहिं विशेषगरी अधिल्लो समितिको पदावधि पुरा भएर अधिवेशन हुन सकेन । त्यसैले उक्त समिति विधटन भयो । विघटन भएपछि नयाँ समिति आउन १ वर्ष लाग्यो । यो विचमा १ बर्ष नेविसंघ केन्द्रीय कमिटि थिएन । लगातार १ बर्ष केन्द्रीय कमिटि नुहँदा केहि गतिविधि कम भयो होला । तर जवदेखि हाम्रो कमिटि आयो, त्यसपछि हरेक मुद्धामा चाहे त्यो विद्यार्थीका मुद्धाहरु हुन या राष्ट्रिय राजनीतिका मुद्धा हुन, हरेक मुद्धामा नेपाल विद्यार्थी संघ अग्र पंक्तिमा प्रस्तुत रहेर बोलेको छ । खबरदारी गरेको छ । आफ्नो जिम्मेवारी पुरा गरेको छ ।

 

पेट्रोलको मुल्य यस अगाडी प्रतिलिटर ९६ रुपैयाँ थियो । त्यसपछि मुल्य बढेर १०१ रुपैया पुग्यो । ५ रुपैयाँ बढ्दा सम्म कसैले पनि मुल्यबृद्धिको विरोध गरेको सुनिएन । फेरी हालसालै मुल्य एक रुपैयाँले बढेर प्रतिलिटर १०२ रुपैयाँ हुँदा नेविसंघले आन्दोलन गर्यो । यो कस्तो १ रुपैयाँको राजनीति हो ?

 

जव पेट्रोलको मुल्य ९६ बाट १०१ रुपैया भयो, ५ रुपैयाँ हठात् रुपमा बढाईयो । त्यसपछि हामिले तुरुन्तै विज्ञप्ती जारी गरेर यो कुराको अपोज गरेका थियौं । र त्यति मात्र होईन, हामी आयल निगममा ज्ञापन पत्रै लिएर गयौं । यो जुन मुल्यबृद्धि छ, यो उचित छैन । कोरोनाका काराण सारा आर्थिक गतिविधि ठप्प छ । जनतालाई धेरै दुःख, मर्का छ । यो बेला जनतालाई कसरी राहत दिनुपर्ने भन्ने र राहतदिने उपाय सोंच्ने बेलामा झन आकाशिएको महंगी झन बढ्ने गरी, जनताको ढाड भँचिने गरी जुन यो मुल्य बृद्धि भयो यो तुरुन्तै फिर्ता गर्नुपर्छ भनेर आयल निगममा खबरदारी गर्न गयौं । तर आयल निगमले हाम्रो माग सुनुवाई गरेर त्यो ५ रुपैयाँ घटाउनुको सट्टा एक दुई दिन भित्रै झन १ रुपैयाँ थपेछ । यो विद्यार्थीलाई जिस्काउने काम, जनतालाई जिस्काउने काम सरकारी निकायहरुले नगरुन भन्दा भन्दै यो सरकारले सडकमै नआई सुन्दो रहेनछ, अरु भाषाको सुनुवाई नहुने रहेछ भनेर हामी बाध्य भएर सडकमा आएका हो । यो कुनै १ रुपैयाँको राजनीति होईन । जनताको पक्षमा गरेको राजनीति हो ।

नेविसंघको नेतृत्व सँधै किन माउ संगठनको छायाँमा पर्छ ?

 

त्यस्तो छैन । नेविसंघको धेरै महाधिवेशनमा विद्यार्थीहरुलेनै नेतृतत्व चयन गरेर विद्यार्थीहरुबाटै नेतृतत्व आएको छ । खालि यो पटक मात्र अधिल्लो महाधिबेशनबाट आएको समितिले तोकिएको समयमा महाधिवेशन गर्न सकेन । नसकेपछि नेविसंघ र पार्टीको विधानमै के व्यवस्था छ भने भातृसंस्थाहरुमा तोकिएको समयमा निर्वाचन नभएमा पार्टीले भंग गर्न सक्ने र पार्टिले नै आवश्यक व्यबस्था गर्न सक्ने कुरा लेखिएको छ । त्यो कुरा टेकेर नै पार्टीले निर्णय गरेको हो । म भन्दा अगाडीको अध्यक्ष पनि निर्वाचित भएरै आउनु भएको हो । यसमा प्रत्यक चोटी पार्टीले हस्तक्षप गरेको र पार्टीले छानेको भन्ने छैन ।

 

विद्यार्थी राजनीति दलिय राजनीतिमा पुग्ने भर्याङ मात्र हो भन्दा कति सहि र कति गलत हुन्छ ?

 

भर्याङकै रुपमा हेर्नु भएन । विद्यार्थीहरु बैचारीक रुपमा पार्टीसंग नजिक पनि हुन्छन् । बैचारीक रुपमा नजिक भएपछि उनीहरुले विद्यार्थी आन्दोलनमा नेतृत्व गर्दै जाँदा विद्यार्थीका पक्षमा हरेका मुद्धाहरु प्रस्तुत गर्दै जाँदा उनीहरुको एउटा राजनीतिक छवि पनि निर्माण हुँदै जान्छ । त्यो छविका कारणले आँफू बैचारिक रुपमा नजिक भएको पार्टीमा स्थापीत हुन सजिलो हुन्छ । खाली विद्यार्थी आन्दोलनलाई, विद्यार्थी संगठनलाई भर्याङ बनाएर नेतृत्वमा पुगे भन्ने कुरा होईन । विद्यार्थी राजनीतिबाट आएकालाई पार्टी राजनीतिमा स्थापीत हुन सहज हुन्छ । त्यत्ती मात्र हो ।

 

आजकल पार्टीहरुले व्यावसायि र गैर राजनीतिक धारबाट आएकाहरुलाई चुनावी टिक दिने चलनले बर्षौ राजनीति गरेर आएकाहरुमा कस्तो प्रभाव पाभाव पार्ला ?

 

पार्टीमा सबै तह र तप्काको कार्यकर्ता चाहिन्छ । विभिन्न पेशा सम्बन्धित ब्यक्तित्वहरुलाई पनि पार्टीले आँफूमा समाहित गर्नुपर्ने हुन्छ । सबै वर्गलाई नसमेटी पार्टीको संगठन निर्माण हुन सक्दैन । त्यसैले सबै तह र तप्काका व्यक्तित्वहरु पार्टीमा चाहिन्छ । तर यो टिकटै दिने कुरामा भने होईन ।
तर पछिल्लो समय नेपाली जनताले के महशुस गरेका छन् भने विशेष गरी यो समानुपातीक बाट प्रतिनिधि सभामा पठाईने कुरामा भने कता कता पार्टीले त्यति बढी ध्यान नदीएको हो कि ? कता कता आर्थिक रुपले सम्पन्न मान्छेहरु, व्यावसायिहरु हावि भएका हुन् की भन्ने कुरा अलिकति महशुस गरेको चाहिं हो , समानुपातीकको सवालमा । नत्र भने अरु सवालमा सबै मानिस समेट्नै पर्छ । यो अन्यथा कुरो हो जस्तो मलाई लाग्दैन ।

 

देश कोरोना र सत्तापक्षकै पार्टीको संक्रमणबाट गुज्रिरहेको छ । यस्तो बेलामा प्रतिपक्षिय विद्यार्थी नेताको हैसियतले यसको समाधान कस्तो देख्नु भएको छ ?

देशको स्थिति भयाभह छ । कोरोनाका कारण ३ महिना भन्दा बढी नेपाली जनता थुनिएरै बस्नु पर्यो । सबैखाले आर्थिक गतिविधि ठप्प भए । विद्यार्थीहरु पनि मनौबैज्ञानिक रुपमा त्रस्त रुपमा बस्नु पर्यो । यस्तो बेलामा सरकारले अरु राहत संगसंगै मनोबैज्ञानिक राहत, जनतामा उत्साह, हौसला दिने । मेरो देशमा मेरो सरकार छ, भोकबाट मर्न दिंदैन, जस्तोसुकै अप्ठेरोमा पनि हामिलाई उद्धार गर्छ भन्ने त्यो भवना नै यो ल्याउन सकेन । मुलत सरकारका प्रधानमन्त्री कसरी हुन्छ सत्ता जोगाउने कुरामा केन्द्रीत भै सत्ताको आयु लम्ब्याउने कुरामा केन्द्रीत भए । सरकारका मन्त्रीहरु कोरोनाका नाममा हुने खर्चहरुमा कहाँ कमिसन खान पाईन्छ ? कहाँ भ्रष्टाचार गर्न पाईन्छ भन्ने कुरामा केन्द्रीत भए । सबैभन्दा ठूलो कुरो के भने सत्तारुढ पार्टीले यो बेलामा सरकार संचालनको लागि यसरी जनताको पक्षमा काम गरोस् है भनेर नीतिगत निर्देशन दिनु पर्ने, सरकारलाई खबरदारी गर्नु पर्ने, सरकारलाई बाटो देखाउनु पर्ने बेलामा सत्तारुढ पार्टीकै नेताहरु कसरी को कुन कुर्सिमा पुग्न पाईन्छ भनेर कुर्सिको छिना छपटीमा मात्र लागे ।

 

केपी ओली कसरी आफ्नो कुर्सीको बचाई राख्ने र केपी ओली बाहेकका नेताहरु कसरी केपी ओलीलाई कुर्सिबाट फालेर कुर्सिमा स्थापीत हुन सकिन्छ, भन्नेमा लागिरहेका छन् । यहा जनता पनि छन् , जनताले भोट दिएर जिताएको हो । जनताको निम्ती सरकार बनेको हो । यो दुःखको बेला जनतालाई राहत दिनुपर्छ भन्ने कुरामा एक रति पनि न सरकारको चिन्ता देखियो न सत्तारुढ पार्टीको । यस भयाभव स्थितबाट देशलाई बाहिर निकाल्न सत्तारुढ पार्टिले नै आफूलाई बदल्नु पर्छ । अब कुर्सिको जफडामा होईन जनताको हितमा केन्द्रित भएर लाग्नु पर्छ । जनतालाई हिम्मत र हौसला दिंदै स्थितिको सामना गर्दै अगाडी बढ्ने कुरामा लाग्नु पर्छ । जो सुकै प्रधानमन्त्री हुन्, हाम्रो प्रधानमन्त्री त आउने हैनन् । त्यही पार्टीको प्रधानमन्त्री आउनेहुन्, तर यो बेला देशलाई कसरी माथि लैजाने र यो स्थितिको सामना कसरी गर्ने भन्ने कुरामा केन्द्रित रहेर अगाडी बढ्नु पर्छ । प्रतिपक्षीय पार्टी काँग्रेसले त सहयोग गरेकै छ । कोरोना संग लड्ने सवालमा, नक्सा जारी गर्ने कुरामा, लिपुलेक, लिम्पीयाधुरा, कालापानी उच्च राजनीतिक बार्ता गरेर फिर्ता लिने कुरामा हामि सरकारको साथ छौं भनेर भनीराखेका छौं । यति जिम्मेबार प्रतिपक्ष त संसारमा कहिं पनि हुँदैन ।

 

के केपी ओली नेतृत्वको सरकार असफल भएको हो त ?

 

शुरुदेखिनै हेर्दा, निर्मला बलात्कारको घटनामा दोषी पत्ता लगाउने कुरादेखि लिएर, ३३ केजी सुनकाण्ड । वाईड बढी काण्ड देखि बालुवाटार जग्गा प्रकारण । यति होल्डीङ ग्रुपलाई सारा सरकारी सम्पत्ती बुझाउने देखि धेरै कुराहरुमा सरकारले जनताको पक्षमा निर्णय गरेको र काम गरेको देखिएन । कसरी हुन्छ तस्करहरुलाई, माफियाहरुलाई, ठूला व्यापारिक घरानाहरुलाई पोष्ने काममा मात्रै सरकार लाग्यो । कोरोना शुरु हुँदै गर्दा गएको जनवरि तिर विश्व स्वास्थ्य संगठनले कोरोना संसारभर फैलन्छ है, कोरोना विरुद्ध लड्ने तैयारी गरिराख भन्दै थियो । हाम्रो सरकार संसारभरि घुमेर नेपाल कोरोना मुक्त देश हो, तपाईहरु संसारबाट नेपाल घुम्न आउनुस भनेर कोरोनालाई रेड कार्पेट विच्याएर आमन्त्रण गरिराखेको थियो ।

२०७६ साल चैत्र १० गते जब दोश्रो कोरोना संक्रमित भेटीयो ११ गतेदेखी नेपालमा लकडाउन शुरु भयो। त्यसपछि मात्र सरकार कोरोना विरुद्ध लड्ने तयारीमा जुटेको हो । यसै अवस्थामा कसरी कोरोलाई परास्त गर्ने भन्ने सवाल एकातिर थियो भने सरकार कसरी यसबाट बढी भन्दा बढी कमिसन खान पाईन्छ भनेर सरकार त्यसमा लाग्यो । त्यसपछि कोरोनासंग लड्दै गर्दा, सारा राजनीतिक पार्टीले सरकारलाई साथ दिंदै गर्दा सरकार रातारात अध्यादेश ल्याएर ति साथ दिने पार्टीहरुलाई कसरी फुटाउन सकिन्छ, तिनलाई फुटाएर कसरी आफ्नो सत्ताको आयु लम्ब्याउन सकिन्छ भन्ने खेलमा लागिराख्यो ।

अहिले पनि सरकार सत्ताको खेल बाहेक कुनै काममा लागेको छैन । यो सरकार जनताको पक्षमा काम गर्ने सवालमा पूर्णतया फेल भैसकेको छ । अब यो सरकारको विकल्प खोज्नुपर्छ नेकपाले । नेकपाले यो सरकारको विकल्प खोजेन भने जनताले खोज्छ । र जनताले खोजेको विकल्प नेकपाले चाहेजस्तो हुँदैन । त्यो कुरो नेकपाले बुझ्नुपर्छ ।

  • 761
  •  
  •  
  •  
  •  
  •  
    761
    Shares

Facebook Comments