विपिनको परिवारमा रुवाबासी : हजुरआमालाई अझै खबर दिइएको छैन, बुबा बोल्नै नसक्ने अवस्थामा !

15 October, 2025 196 Views
विपिनको परिवारमा रुवाबासी : हजुरआमालाई अझै खबर दिइएको छैन, बुबा बोल्नै नसक्ने अवस्थामा !
196

असोज,काठमाडौं । भीमदत्त नगरपालिका–३, कञ्चनपुरको सानो बस्ती आज फेरि एकपटक रुवाबासीले ढाकिएको छ। दुई वर्षदेखि “विपिन फर्किन्छन्” भन्ने आशा बोकेको जोशी परिवार अब “विपिनको शव कहिले आइपुग्छरु” भन्ने पीडामय प्रतीक्षामा छ। इजरायल सरकारले सोमबार विपिन जोशीको शवको डीएनए परीक्षण पूरा भई पहिचान भएको औपचारिक जानकारी दिएको छ।

“शव अस्पतालमा राखिएको छ, डीएनए परीक्षण भइसकेको छ,” विपिनका दाइ किशोर जोशी भावुक स्वरमा भन्छन्, “यो बीचको समय झनै पीडादायी हुने रहेछ — घरका सबै रोइरहेका छन्, कसरी सम्हाल्ने थाहा छैन।”विपिनका बुबा महानन्द जोशी खबर सुनेदेखि मौन छन्। उनले एक शब्द पनि बोल्न सकेका छैनन्, आँसु मात्र बोलिरहेका छन्। घर बाहिर निस्कने ताकत पनि अब बाँकी छैन। वृद्धा हजुरआमालाई अझै पनि यो खबर सुनाइएको छैन। “उहाँले सहन सक्नुहुन्न भन्ने डर छ,” दाइ किशोर भन्छन्, “त्यसैले सबै कुरा गोप्य राखेका छौं।”

विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा हाल अमेरिकाबाट नेपाल फर्कने तयारीमा छन्। दुई वर्षदेखि विपिनको रिहाइका लागि दौडधूप गरिरहेका उनीहरू अहिले उनकै अन्तिम यात्राको प्रतीक्षा गर्दै छन्। सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायमा अध्ययनरत विपिन दुई वर्षअघि ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए। तर, इजरायल पुगेको महिना नपुग्दै — ७ अक्टोबर २०२३ मा — हमासले किबुज एलुमिममा आक्रमण गर्दा उनी अपहरणमा परेका थिए। त्यस घटनामा १० नेपाली विद्यार्थीको ज्यान गएको थियो, तर विपिन लामो समयसम्म बेपत्ता थिए।

अब दुई वर्षको आशा, प्रतीक्षा र प्रार्थना शोक र मौनतामा परिणत भएको छ। जोशी घरको आँगनमा हरेक अनुहार थकित देखिन्छ — आँसु र मौनताबीच सबैको मुखमा एउटै वाक्य घोइरिन्छ,
“विपिन फर्किए।।। तर यो पटक बोल्नका लागि होइन।”

Related Post