अम्बिकादेवी संग्रौलाको टिप्पणी : ‘सरकारको बजेट असफलताको संकेत पहिलो महिनामै देखियो’

24 August, 2026 83 Views
अम्बिकादेवी संग्रौलाको टिप्पणी : ‘सरकारको बजेट असफलताको संकेत पहिलो महिनामै देखियो’
83

काठमाडौं । श्रम संस्कृति पार्टीकी सांसद अम्बिकादेवी संग्रौलाले चालु आर्थिक वर्षको बजेट कार्यान्वयन सुरु भएको पहिलो महिनामै असफलताको संकेत देखिएको दाबी गरेकी छन्। बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुँदाहुँदै पनि व्यवसायी ऋण लिएर लगानी गर्न इच्छुक नदेखिनु सरकारको आर्थिक नीतिप्रति अविश्वासको संकेत भएको उनको टिप्पणी छ। उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ३६ देश चिनेको दाबी गरिए पनि आफ्नै देशको अर्थतन्त्र बुझ्न नसकेको आरोप लगाउँदै सरकार गठन भएयता पुँजीबजारमा ६ खर्ब रुपैयाँ डुबेको दाबीसमेत गरिन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद संग्रौलाले नेपालको अर्थतन्त्रमा पछिल्लो समय गम्भीर समस्या देखिएको बताइन्।

उनले बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको अवस्थामा पनि व्यवसायीहरू ऋण लिएर लगानी गर्न तयार नहुनुको कारण खोज्नुपर्ने बताइन्। दुईतिहाइ बहुमतको सरकारको आर्थिक नीतिमाथि नै व्यवसायीको विश्वास घटेको हो कि होइन भन्ने प्रश्न उनले उठाइन्।

संग्रौलाले भनिन्, ‘बैंकिङ प्रणालीमा यतिधेरै तरलता हुँदा पनि किन कोही लगानी गर्न ऋण लिन चाहिरहेको छैन ? के व्यवसायीहरूलाई दुईतिहाइ बहुमतको सरकारको अर्थनीतिमा अविश्वास भएकै हो त ?’

उनले अर्थमन्त्री वाग्लेलाई लक्षित गर्दै ‘३६ देशलाई चिनेर आफ्नै देशलाई चिन्न नसकेको’ आरोप लगाइन्। सरकारको बजेट कार्यान्वयनको सुरुवाती अवस्थामै कमजोरी देखिएको उनको दाबी थियो।

त्यस्तै, सरकार गठन भएयता पुँजीबजारमा ६ खर्ब रुपैयाँ डुबेको दाबी गर्दै उनले यस्तो अवस्थामा पनि सरकारले अर्थतन्त्रका समस्या समाधानमा पर्याप्त ध्यान नदिएको आरोप लगाइन्।

उनले भनिन्, ‘यत्रो समस्या हुँदा पनि अर्थमन्त्रीज्यू चाहिँ चिठ्ठा खेलाउनमा व्यस्त हुनुहुन्छ। अर्थतन्त्रको समस्या समाधान नगरी देश विकास हुन्छ र ?’

संग्रौलाले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने बताइन्।

Related Post