काठमाडौं । बागमती प्रदेशसभाको बैठक सञ्चालन गर्ने विषयमा अन्योल बढेको छ। उपसभामुख अप्सरा चापागाईंले बैठक सञ्चालनबारे सहमति जुटाउन बोलाएको सर्वदलीय बैठक निष्कर्षविहीन भएपछि प्रदेशसभाको आगामी प्रक्रिया अनिश्चित बनेको हो।
दलहरूबीच सहमति नजुटेपछि साँझ ५ बजेका लागि निर्धारण गरिएको प्रदेशसभा बैठक प्रभावित हुने सम्भावना देखिएको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने बैठकमा नाराबाजी वा प्रदर्शन नगरी अनुपस्थित हुने अथवा बैठकबाट बाहिरिएर ‘भद्र बहिष्कार’ गर्ने तयारी गरेको छ। कांग्रेसका प्रमुख सचेतक पुकार महर्जनले राप्रपासँग जोडिएको विवाद समाधान नभएसम्म सदन सञ्चालनमा सहयोग नगर्ने पार्टीको धारणा रहेको बताएका छन्।
राप्रपाले संसदीय दलका नेता उद्धव थापालाई पदबाट हटाउन माग गर्दै आएको छ। पार्टीको निर्णयविपरीत मुख्यमन्त्री बनाउने प्रयासमा संलग्न भएको आरोप लगाउँदै राप्रपाले यसअघि नै थापालाई पदमुक्त गर्न पत्राचार गरिसकेको छ।