लुम्बिनी प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट तीन जना मन्त्री नियुक्त भएका छन्। मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश प्रमुखसमक्ष उनीहरूको नाम सिफारिस गरेका हुन्।
नेकपाबाट दीपेन्द्रकुमार पुनलाई स्वास्थ्य, इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना र कृष्णा कुश्मा थारूलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ। उनीहरूको पद तथा गोपनीयताको शपथ मंगलबार दिउँसो ३ः२५ बजे प्रदेश प्रमुखको कार्यालय बुटवलमा हुने भएको छ।
मन्त्रिपरिषद् पुनर्गठनसँगै रामजीप्रसाद घिमिरेलाई स्वास्थ्यबाट सामाजिक विकास, तुलसीप्रसाद चौधरीलाई कृषिबाट वन, वातावरण तथा पर्यटन र सन्तोषकुमार पाण्डेयलाई सामाजिक विकासबाट सहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयमा जिम्मेवारी सारिएको छ।
यसअघि सरकारमा एमालेबाट मुख्यमन्त्रीसहित चार, नेकपाबाट तीन र जनता समाजवादी पार्टी (जसपा) नेपालबाट दुई जना मन्त्री रहने सहमति भएको थियो। सोहीअनुसार मन्त्रिपरिषद् पुनर्गठन गर्न लागिएको हो।