काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले अघि बढाइरहेको संविधान संशोधनको तयारीप्रति गम्भीर आशंका व्यक्त गरेका छन्। उनले संविधान संशोधनको नाममा मुलुकको वर्तमान संविधानलाई नै कमजोर बनाउने वा पुनर्लेखन गर्ने प्रयास भइरहेको हो कि भन्ने प्रश्न उठाएका छन्।
प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम साहको नेतृत्वमा संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठन गरिएको कार्यदलले आफ्नो काम सम्पन्न गरिसकेको छ। तर, कार्यदलमा सहभागी अन्य राजनीतिक दलका प्रतिनिधिलाई अन्तिम चरणमा प्रक्रियाबाट बाहिर राखिएको दाबी सार्वजनिक भएपछि संशोधन प्रक्रियामाथि थप प्रश्न उठ्न थालेका छन्।
यही सन्दर्भमा प्रचण्डले सरकारले संविधान संशोधन कुन उद्देश्यका साथ अघि बढाइरहेको हो भन्ने विषयमा स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने जिकिर गरेका छन्।
उनले हजारौँ नागरिकको बलिदान, त्याग, तपस्या र लामो राजनीतिक संघर्षपछि प्राप्त भएको समावेशी लोकतान्त्रिक संविधानलाई पुनर्लेखन गर्न खोजिएको हो कि भन्ने आशंका व्यक्त गरे।
प्रचण्डले भने, "यो संविधान हजारौँको बलिदान, ठूलो त्याग, तपस्या र लामो संघर्षबाट प्राप्त भएको समावेशी लोकतन्त्रसहितको संविधान हो। यसलाई पुनर्लेखन नै गर्न खोजिएको त होइन?"
उनले संविधान संशोधनको नाममा वर्तमान संविधानलाई कुनै न कुनै रूपमा कमजोर बनाउने उद्देश्यले प्रक्रिया अघि बढाइएको हो कि भन्ने प्रश्न आम नागरिकमा समेत उठ्न थालेको दाबी गरे। साथै, संविधानजस्तो संवेदनशील विषयमा सबै राजनीतिक दलको सहभागिता, पारदर्शिता र व्यापक राष्ट्रिय सहमति आवश्यक हुने जिकिर पनि गरे।