संवाद गर्नुस्, अहंकार नपाल्नुस्ः बालेनलाई प्रचण्डको सुझाव

30 July, 2026 39 Views
संवाद गर्नुस्, अहंकार नपाल्नुस्ः बालेनलाई प्रचण्डको सुझाव
39

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन्द्र शाहलाई दुई तिहाइ बहुमतको दम्भ नपाल्न र प्रतिपक्षसँग संवाद गर्न आग्रह गरेका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रचण्डले सरकारप्रति जनताको असन्तुष्टि बढ्दै गएको दाबी गरे। उनले लोकतान्त्रिक व्यवस्थामा संवाद र सहकार्यबाट नै समस्याको समाधान खोज्नुपर्ने धारणा राख्दै प्रतिपक्षसँग संवाद गर्दा प्रधानमन्त्रीको कद सानो नहुने बताए।

प्रचण्डले मुलुकमा विगतका जटिल राजनीतिक परिस्थितिको समाधानमा योगदान दिएका अनुभवी नेता, बुद्धिजीवी र विज्ञहरूसँग सरकारले आवश्यक परामर्श गर्नुपर्ने बताए। सुशासन, सामाजिक न्याय र समृद्धिका विषयमा लामो समयदेखि संघर्ष गरेका व्यक्तिहरूको अनुभवलाई उपयोग गर्नुपर्ने उनको भनाइ थियो।

उनले प्रधानमन्त्रीलाई आफूलाई पनि छलफलका लागि बोलाउन आग्रह गर्दै भ्रष्टाचारविरुद्धको अभियान किन अपेक्षाअनुसार सफल हुन सकेन भन्ने विषयमा आफ्नो अनुभव साझा गर्न तयार रहेको बताए। प्रधानमन्त्रीलाई संवादबाट रोक्ने कुरा अहंकार भए त्यो मुलुकका लागि दुर्भाग्यपूर्ण हुने उनको टिप्पणी थियो।

 
 
 

Related Post