काठमाडौं । सुनसरीको देवानगञ्ज घटनाको विरोधमा जिल्ला प्रशासन कार्यालय मोरङअगाडि प्रदर्शन गरिएको छ। विश्व हिन्दू परिषद्को अगुवाइमा विभिन्न हिन्दुवादी संघ–संस्थाका प्रतिनिधिहरूले प्रदर्शन गर्दै बालेन सरकारविरुद्ध नाराबाजी गरेका हुन्।
मेनरोडस्थित हनुमान मन्दिरअगाडिबाट सुरु भएको विरोध जुलुस जिल्ला प्रशासन कार्यालयको गेटसम्म पुगेको थियो। प्रदर्शनका क्रममा सहभागीहरूले घटनाको निष्पक्ष छानबिन गर्न, दोषीमाथि कारबाही गर्न र सरकार प्रभावकारी रूपमा प्रस्तुत नभएको आरोप लगाए।
प्रदर्शनकारीहरूले ‘बालेन सरकार मुर्दावाद’ र ‘दोषीलाई कारबाही गर’ जस्ता नाराबाजी गरेका थिए। प्रदर्शन नियन्त्रणमा राख्न प्रशासनले जिल्ला प्रशासन कार्यालय परिसरमा ब्यारिकेट राखेर सुरक्षा व्यवस्था कडा पारेको थियो।
आइतबार राति सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपपछि प्रहरीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ। उक्त घटनापछि तराई–मधेसका विभिन्न जिल्लामा विरोध प्रदर्शन जारी छ।