नेपालगन्ज । विश्व बाघ दिवस–२०२६ को अवसरमा बाँकेको राप्ती सोनारी गाउँपालिकामा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
बास नेपालको आयोजना तथा डिभिजन वन कार्यालय बाँके, राप्ती सोनारी गाउँपालिका–६, ताल परियोजना र इन्रुडेक कोहलपुरको सहकार्यमा आयोजित कार्यक्रममा स्थानीयवासी र सरोकारवालाबीच मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका उपायबारे छलफल भएको थियो।
कार्यक्रममा राप्ती सब–डिभिजन वन कार्यालयका प्रमुख रामगणेश शाहले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सबै पक्षले सकारात्मक सोच र समन्वयका साथ काम गर्नुपर्नेमा जोड दिए। ताल परियोजना कोहलपुरका भरतप्रसाद भट्टले कार्यक्रमबाट प्राप्त सुझावका आधारमा आगामी कार्यक्रम सञ्चालन गरिने बताए।
कार्यक्रममा ताल परियोजनाका प्रतीक शाह र इन्रुडेक कोहलपुरका विराट लामिछानेले पनि आफ्नो धारणा राखेका थिए। बास नेपालका निर्देशक हेमराज भट्टले विश्व बाघ दिवसको इतिहास, बाँके राष्ट्रिय निकुञ्जको स्थापना तथा बाघ संरक्षणका लागि भइरहेका प्रयासबारे प्रस्तुति दिएका थिए।
बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार वर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ८२ जना स्थानीय तथा सामुदायिक वनका पदाधिकारीहरूको सहभागिता रहेको थियो।
यसैबीच, विश्व बाघ दिवसकै अवसरमा बर्दियाको ठाकुरद्वारामा पनि बर्दिया राष्ट्रिय निकुञ्जको आयोजना तथा बास नेपाललगायत विभिन्न संस्थाको सहकार्यमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।