असोज ८ देखि १२ गतेसम्म वर्षा बढ्न सक्ने मौसमविद्को पूर्वानुमान

असोज ८ देखि १२ गतेसम्म वर्षा बढ्न सक्ने मौसमविद्को पूर्वानुमान
26

काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण असोज ८ देखि १२ गतेसम्म नेपालमा वर्षाको गतिविधि बढ्न सक्ने मौसमविद्हरूले बताएका छन् ।

जल तथा मौसमविद् डा. विनोद पोखरेलका अनुसार विभिन्न मौसम पूर्वानुमान मोडेलले उक्त अवधिमा देशका केही स्थानमा भारी वर्षाको सम्भावना देखाएका छन् । उनले पूर्वतयारी र सतर्कता अपनाउन आग्रह गरेका छन् ।

अर्का मौसमविद् उज्ज्वल उपाध्यायले पनि असोज ८ देखि ११ गतेसम्मको अवस्था निगरानी गर्नुपर्ने बताएका छन् । उनका अनुसार असोज १० गते वर्षाको प्रभाव बढी हुन सक्ने संकेत देखिए पनि अहिलेको पूर्वानुमानलाई अन्तिम निष्कर्ष मान्न नहुने बताएका छन् ।

नेपालको जल तथा मौसम विज्ञान विभागले पनि बंगालको खाडीमा विकसित प्रणालीलाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ । विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले प्रणालीको दिशा र शक्तिमा परिवर्तन हुन सक्ने भएकाले नेपालमा पर्ने प्रभावबारे अहिले नै निश्चित भन्न नसकिने बताएका छन् ।

वर्षा बढेमा विशेषगरी पाक्न लागेको धानबालीमा असर पर्न सक्ने भएकाले किसानलाई समेत सतर्क रहन मौसमविद्हरूले सुझाव दिएका छन् ।

यसैबीच, बंगालको खाडीमा विकसित प्रणाली थप शक्तिशाली हुँदै चक्रवात बनेमा यसको नाम ‘अर्नब’ राखिनेछ । यो नाम बंगलादेशले प्रस्ताव गरेको हो ।

Related Post