राजनीतिक विश्लेषक भरत दाहाललाई प्रहरीले पक्राउ गरेको छ।
दाहालले भदौ २७ गते अमेरिकी सञ्चारमाध्यम ‘द ग्रे जोन’ले नेपालमा भएको जेन–जी आन्दोलनबारे प्रकाशित रिपोर्ट सामाजिक सञ्जालमा शेयर गरेका थिए। उनले उक्त रिपोर्ट ‘अमेरिकी पत्रिकामा अर्को विस्फोट’ शीर्षकमा शेयर गरेका थिए।
उक्त रिपोर्टमा नेपालका केही नयाँ राजनीतिक नेता, अभियन्ता तथा आन्दोलनका अगुवाको सम्बन्ध अमेरिकी सहयोगमा सञ्चालित विभिन्न संस्था र परियोजनासँग रहेको दाबी गरिएको थियो। रिपोर्टमा केही व्यक्तिको नाम नागरिक नेतृत्व तथा क्षमता विकाससम्बन्धी कार्यक्रमसँग जोडिएको विवरणसमेत उल्लेख थियो।
प्रहरीका अनुसार दाहालले यस्ता सामग्रीलाई सामाजिक सञ्जालमा भ्रामक तथा अतिरञ्जित रूपमा प्रस्तुत गरी फैलाएको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको छ। यही विषयमा साइबर ब्यूरोमा परेको उजुरीका आधारमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका दाहालमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।