एमाले कार्यदलमा ओलीको राजीनामा नमाग्ने सहमति

एमाले कार्यदलमा ओलीको राजीनामा नमाग्ने सहमति
21

काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा नमाग्ने सहमति भएको कार्यदलका सचिव महेश बस्नेतले बताएका छन् ।

आइतबार कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले पार्टी अध्यक्ष ओलीलाई हटाउने विषय प्रतिवेदनमा नराख्ने सहमति भएको जानकारी दिएका हुन् ।

उनका अनुसार कार्यदलले पार्टीको एकता मजबुत बनाउने र संगठनलाई थप प्रभावकारी बनाउने विषयलाई प्राथमिकतामा राखेको छ । राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने विषयमा पनि सहमति भएको उनले बताए ।

बस्नेतले एमालेभित्र विभाजनको अवस्था आउन नदिन सबै पक्षलाई समेटेर अघि बढ्नुपर्ने बताए । उनले पार्टीलाई एकताबद्ध बनाउँदै वर्तमान सरकारविरुद्ध सशक्त आन्दोलन गर्ने विषयमा पनि छलफल भएको जानकारी दिए ।

यस्तै, एमाले सचिव राजन भट्टराईले सोमबारदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकमा एउटै प्रतिवेदन पेस हुने बताए । त्यसका लागि कार्यदलमा आएका प्रतिवेदनलाई आवश्यकताअनुसार परिमार्जन गरिने उनले जानकारी दिए ।

अर्का सचिव छविलाल विश्वकर्माले २९ पृष्ठको प्रतिवेदनलाई परिमार्जन गरी अन्तिम रूप दिइने बताए । तल्लो तहबाट आएका सुझावलाई प्रतिवेदनको अनुसूचीमा राखिने उनले जानकारी दिए ।

एमालेको केन्द्रीय कमिटी बैठक असोज ५ देखि ७ गतेसम्म ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा बस्दैछ । बैठकमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदनमाथि छलफल हुने कार्यतालिका छ ।

यसअघि एमालेभित्र अध्यक्ष ओलीको नेतृत्व परिवर्तनको विषयलाई लिएर फरक–फरक धारणा सार्वजनिक भएका थिए । महासचिव शंकर पोखरेलको प्रतिवेदनमा नेतृत्व हस्तान्तरणको विषय उठाइएको थियो भने त्यसको विपरीत ओलीको नेतृत्वलाई निरन्तरता दिने धारणा समेटिएका प्रतिवेदन पनि आएका थिए । पछिल्लो सहमतिमा तत्काल अध्यक्ष ओलीलाई हटाउने विषय प्रतिवेदनबाट हटाइएको छ ।

Related Post