35
काठमाडौं । भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रमा विद्युत् सेवा पुनःस्थापनाको काम तीव्र पारिएको छ।
ऊर्जा मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार धादिङ र नुवाकोटका सबै क्षेत्रमा विद्युत् सेवा पुनःसञ्चालन भइसकेको छ। नुवाकोटमा भदौ २४ गतेदेखि पूर्ण रूपमा विद्युत् सञ्चालनमा आएको हो।
बाढीबाट सबैभन्दा बढी प्रभावित रसुवामा पनि करिब ९० प्रतिशत क्षेत्रमा विद्युत् पुगेको मन्त्रालयले जनाएको छ। उत्तरगया–१ तथा गोसाईंकुण्डका वडा नम्बर १, २ र ३ बाहेक अधिकांश क्षेत्रमा विद्युत् सेवा सञ्चालनमा आएको छ।
भदौ १० गतेको बाढीपछि भोलिपल्टैदेखि पुनःस्थापनाको काम सुरु गरिएको थियो। विद्युत् वितरण नपुगेका क्षेत्रमा भने सौर्य प्रणालीमार्फत सेवा विस्तार भइरहेको मन्त्रालयले जनाएको छ।