भारतबाट दैनिक १६० बुलेट ग्यास ल्याइने

15 September, 2026 159 Views
भारतबाट दैनिक १६० बुलेट ग्यास ल्याइने
159

काठमाडौं । सरकारले भारतबाट दैनिक १६० बुलेट खाना पकाउने ग्यास आयात गर्ने भएको छ।

ग्यासको अभाव टार्न आयात बढाउन लागिएको उद्योगमन्त्री दीपक साहले बताएका छन्। उनका अनुसार यसअघि दैनिक करिब १०० बुलेट ग्यास आयात गर्ने भनिए पनि भारतबाट औसत ९० देखि ९५ बुलेट मात्रै नेपाल आइरहेको थियो।

त्यसमाथि कृष्णभीरमा गएको पहिरोका कारण राजमार्ग पूर्णरूपमा सञ्चालनमा आउन नसक्दा ग्यास आपूर्ति थप प्रभावित भएको थियो।

हाल मकवानपुर, चितवन, नवलपरासी, बारा र पर्साबाट बुलेटमा ग्यास रिफिल गरी सिलिन्डर काठमाडौं ल्याउने व्यवस्था मिलाइएको छ।

नवनियुक्त मन्त्री साहले मंगलबार नेपाल आयल निगम पुगेर ग्यासको माग र आपूर्तिको अवस्थाबारे जानकारी लिएका थिए। त्यसपछि निगमले थप ग्यास उपलब्ध गराउन इन्डियन आयल कर्पोरेसनलाई पत्राचार गरेको जनाएको छ।

मन्त्री साहका अनुसार नेपालले माग गरेअनुसार भारत दैनिक थप ६० बुलेट ग्यास उपलब्ध गराउन तयार भएको छ। उनले अबको एक साताभित्र ग्यासको आपूर्ति सहज हुने दाबी गरेका छन्।

Related Post