काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार, ६ रुटमा २८ विद्युतीय बस चल्ने

काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार, ६ रुटमा २८ विद्युतीय बस चल्ने
27

काठमाडौं । साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गर्ने भएको छ । शनिबारदेखि थप रुटमा गरी २८ वटा विद्युतीय बस सञ्चालनमा ल्याइने भएको हो । संविधान दिवसको अवसर पारेर साझा यातायातले हाल सञ्चालनमा रहेको रात्रिकालीन सेवाको दायरा विस्तार गर्न लागेको हो ।

साझा यातायातका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भूपेन्द्र अर्यालका अनुसार गत वैशाख १ गतेदेखि दुईवटा रुटमा सात वटा बसमार्फत रात्रिकालीन सेवा सञ्चालन हुँदै आएको थियो । हाल नागढुंगा–एयरपोर्ट र लगनखेल–बूढानीलकण्ठ रुटमा सञ्चालन हुँदै आएको सेवा अब थप रुटमा विस्तार गरिनेछ ।

शनिबारदेखि बूढानीलकण्ठ–गोदावरी रुटमा ६, जगाती–रत्नपार्क–ठमेल रुटमा ६, विमानस्थल–नागढुंगा रुटमा ४, कीर्तिपुर–जमल रुटमा ४ तथा चक्रपथ परिक्रमाका लागि दुवैतर्फ ८ वटा विद्युतीय बस सञ्चालन हुनेछन् ।

यसअघि सञ्चालनमा रहेका नागढुंगा–एयरपोर्ट र लगनखेल–बूढानीलकण्ठ रुटमा भने क्रमशः चार र तीन वटा बस चल्नेछन् ।

साझा यातायातका अनुसार रात्रिकालीन बसहरू सम्बन्धित प्रस्थानबिन्दुबाट बेलुका ८ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुनेछन् । यात्रुको चाप र आवश्यकताका आधारमा बसको संख्या तथा सेवा समय समायोजन गर्न सकिने कम्पनीले जनाएको छ ।

रातिको समयमा सार्वजनिक सवारीसाधनको उपलब्धता कम हुने भएकाले यात्रुको आवश्यकतालाई ध्यानमा राखेर सेवा विस्तार गरिएको साझा यातायातको भनाइ छ । नयाँ सेवाबाट अबेरसम्म काम गर्ने कर्मचारी, विद्यार्थी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अन्य यात्रुलाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ ।

विद्युतीय बस सञ्चालनबाट सार्वजनिक यातायातको पहुँच विस्तारसँगै वातावरणीय प्रदूषण न्यूनीकरणमा समेत सहयोग पुग्ने कम्पनीले जनाएको छ ।

Related Post