कप्तानगञ्जमा सेना परिचालनको विरोधमा लौकही र इनरुवामा प्रदर्शन

27 July, 2026 9 Views
कप्तानगञ्जमा सेना परिचालनको विरोधमा लौकही र इनरुवामा प्रदर्शन
9

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर स्थानीय ओमप्रकाश मेहताको मृत्यु भएपछि त्यसको विरोधमा जिल्ला सदरमुकाम इनरुवामा प्रदर्शन भएको छ ।

आइतबार राति भएको झडपपछि कप्तानगञ्ज क्षेत्रमा कर्फ्यू जारी गरिएको छ । कर्फ्यू उल्लंघन गर्दै प्रदर्शन र तोडफोडका घटना भएपछि स्थिति नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको थियो । सेना परिचालनपछि कप्तानगञ्जको अवस्था क्रमशः सामान्य बन्दै गएको बताइएको छ ।

कप्तानगञ्जमा सेना परिचालन गरिएको विरोधमा स्थानीयले लौकही र इनरुवामा प्रदर्शन गरेका हुन् ।

झडपमा गोली लागेर मृत्यु भएका मेहताको शव विराटनगरस्थित न्युरो अस्पतालमा राखिएको छ । घटनामा घाइते भएका ८ जना प्रदर्शनकारी र ८ जना सुरक्षाकर्मीको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

घटनाको समाधान र थप सुरक्षा व्यवस्थाबारे छलफल गर्न जिल्ला प्रशासन कार्यालय सुनसरीमा सर्वपक्षीय बैठक भइरहेको छ । बैठकमा राजनीतिक दलका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि तथा सुरक्षा अधिकारीहरू सहभागी छन् ।

Related Post