सुनसरीको देवानगञ्जमा भएको घटनापछि उत्पन्न तनाव नियन्त्रण गर्न र सम्भावित साम्प्रदायिक तनाव रोक्न सोमबार बसेको सर्वपक्षीय बैठकले सबै पक्षले आ–आफ्नो ठाउँबाट पहल गर्ने निर्णय गरेको छ ।
बैठकमा सहभागी राजनीतिक दल तथा सरोकारवालाहरूले साम्प्रदायिक हिंसा र तनाव फैलिन नदिन सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको सुनसरीका प्रहरी प्रमुख एसपी केशवकुमार थेबेले बताए ।
एसपी थेबेका अनुसार देवानगञ्ज र कप्तानगञ्ज क्षेत्रको सुरक्षा अवस्था हाल नियन्त्रणमा छ । जिल्ला सुरक्षा समितिको बैठक निरन्तर भइरहेको र जिल्लाको समग्र सुरक्षा अवस्था ‘कमान्ड एन्ड कन्ट्रोल’मै रहेको उनले बताए ।
यद्यपि, लौकही र भोक्राहा क्षेत्रमा केही समूहले राजमार्ग अवरुद्ध गरेका कारण सवारी आवागमन प्रभावित भएको प्रहरीले जनाएको छ । ती क्षेत्रमा स्थिति सामान्य बनाउन प्रहरी टोली परिचालन गरिएको छ ।
सोमबार कुनै नयाँ अप्रिय घटना वा थप मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । देवानगञ्जमा भएको घटनामा हालसम्म एक जनाको मृत्यु भएको प्रहरीको भनाइ छ ।