काठमाडौँ । सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङबीच तादी गाउँपालिकाको विकास तथा सेवा प्रवाहका विषयमा छलफल भएको छ । सोमबार सञ्चार मन्त्रालयमा भएको छलफलमा गाउँपालिकाको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, सञ्चार, सडक सुरक्षा, सिँचाइ तथा विपद् व्यवस्थापनलगायत विषयमा छलफल भएको हो ।
छलफलमा अध्यक्ष तामाङले खरानीटारलाई प्रशासनिक तथा सेवा केन्द्रका रूपमा विकास गर्न मालपोत र नापी कार्यालय स्थापना तथा सभागृह निर्माणलाई प्राथमिकता दिनुपर्ने बताए । उनले तादी आधारभूत अस्पतालको सेवा विस्तारका लागि आवश्यक पूर्वाधार र जनशक्ति थप गर्नुपर्ने माग पनि राखे ।
यस्तै, तादी–२ को मुडुलेडाँडामा नेपाल टेलिकमको नेटवर्क विस्तार, सडक सुधार, बाढीपहिरो नियन्त्रण तथा क्षेत्रीय रंगशाला निर्माणका लागि आवश्यक सहयोग गर्न उनले मन्त्रीसमक्ष आग्रह गरे । तादी–५ का विभिन्न क्षेत्रमा सिँचाइ विस्तार तथा खानेपानी र अन्य आधारभूत पूर्वाधारका योजनालाई प्राथमिकता दिनुपर्ने विषय पनि छलफलमा उठाइएको थियो ।
जवाफमा मन्त्री तिमिल्सिनाले मुडुलेडाँडामा नेपाल टेलिकमको टावर तथा नेटवर्क विस्तारलाई छिटो अघि बढाउन निर्देशन दिइसकेको बताए । विपद् व्यवस्थापनका लागि स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै उनले संघीय सरकारको क्षेत्राधिकारभित्र पर्ने योजनाका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए ।