देशभर मनसुनी गतिविधि सक्रिय, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

19 August, 2026 82 Views
देशभर मनसुनी गतिविधि सक्रिय, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
82

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ।

हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।आज दिउँसो हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। पहाडी भूभागका धेरै स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही तराई क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशीको तराई र मधेश प्रदेशका केही स्थानमा हावाहुरी चल्नसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।आज राति हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। कोशी र सुदूरपश्चिमको तराईमा पनि सामान्य बदली तथा अन्य तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ।

राति पनि हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपात तथा पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र लुम्बिनीका तराई क्षेत्रका केही स्थान तथा मधेश, बागमती, गण्डकी र सुदूरपश्चिमका थोरै तराई क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

Related Post