४० वर्षीय गोलरक्षक भोजिन्हा चिलीको क्लबमा अनुबन्धित हुने

26 July, 2026 56 Views
४० वर्षीय गोलरक्षक भोजिन्हा चिलीको क्लबमा अनुबन्धित हुने
56

काठमाडौं — फिफा विश्वकप २०२६ मा केप भर्डका लागि उत्कृष्ट प्रदर्शन गर्दै चर्चामा आएका ४० वर्षीय गोलरक्षक भोजिन्हा चिलीको शीर्ष डिभिजन क्लब कोलो–कोलोमा आबद्ध हुने भएका छन्।

पोर्चुगलको दोस्रो डिभिजन क्लब चाभेससँगको सम्झौता सकिएपछि भोजिन्हा कुनै पनि क्लबमा आबद्ध थिएनन्। यही अवस्थामा उनले विश्वकपमा सहभागिता जनाएका थिए।

विश्वकपमा उनको प्रदर्शन विशेषगरी स्पेनविरुद्धको खेलमा प्रभावशाली रह्यो। उक्त खेल गोलरहित बराबरीमा सकिँदा भोजिन्हाले उत्कृष्ट गोलरक्षण गर्दै प्रशंसा बटुलेका थिए।

कोलो–कोलोका अध्यक्ष अनिबाल मोसाले भोजिन्हा क्लबमा आबद्ध हुने पुष्टि गरेका छन्। उनका अनुसार भोजिन्हा केही दिनभित्र चिली पुग्नेछन्। नियमित स्वास्थ्य परीक्षणपछि उनलाई सान्टियागोस्थित एस्टाडियो मोनुमेन्टलमा औपचारिक रूपमा सार्वजनिक गरिनेछ।

मोसाले विश्वकपमा भोजिन्हाले गरेको प्रदर्शनका आधारमा उनी कोलो–कोलोमा आबद्ध हुने अवसरका हकदार रहेको बताएका छन्। साथै, उनको आगमनले क्लबको खेलकुद पक्षसँगै बजार प्रवर्द्धनमा पनि सकारात्मक प्रभाव पार्ने उनको विश्वास छ।

सान्टियागोमा रहेको कोलो–कोलो चिलीको शीर्ष डिभिजन ‘लिगा डे प्रिमेरा’ मा प्रतिस्पर्धा गर्छ। यद्यपि भोजिन्हाको स्थानान्तरण प्रक्रिया अझै औपचारिक रूपमा पूरा भएको छैन।

क्लबले सामाजिक सञ्जालमा भोजिन्हाको परिचित घुँघरिएको कपाल देखिने तस्बिर सार्वजनिक गर्दै उनको सम्भावित आगमनको संकेत भने दिएको छ।

स्पेनविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै केप भर्डलाई विश्वकपमा पहिलो अंक दिलाएपछि भोजिन्हा समर्थकमाझ लोकप्रिय बनेका थिए। त्यसपछि सामाजिक सञ्जालमा उनका समर्थकको संख्या पनि उल्लेख्य रूपमा बढेको थियो।

विश्वकपको अन्तिम चरणमा पुग्ने दोस्रो सबैभन्दा सानो राष्ट्र केप भर्डले अन्तिम ३२ को खेलमा अर्जेन्टिनाविरुद्ध पनि कडा चुनौती प्रस्तुत गरेको थियो। तर, अतिरिक्त समयमा ३–२ ले पराजित भएपछि टोली प्रतियोगिताबाट बाहिरिएको थियो।

भोजिन्हाले यसअघि स्लोभाकिया, अंगोला, मोल्डोभा, साइप्रस र पोर्चुगलका विभिन्न क्लबबाट व्यावसायिक फुटबल खेलेका छन्।

Related Post