भेनेजुएलामा १२५ वर्षयताकै शक्तिशाली भूकम्प: मृतकको संख्या ९२० पुग्यो, ५० हजारभन्दा बढी बेपत्ता

27 June, 2026 203 Views
भेनेजुएलामा १२५ वर्षयताकै शक्तिशाली भूकम्प: मृतकको संख्या ९२० पुग्यो, ५० हजारभन्दा बढी बेपत्ता
203
दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलाको उत्तर-केन्द्रीय क्षेत्रलाई केन्द्रविन्दु बनाएर गएको विनाशकारी जुम्ल्याहा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ भने ३ हजार ३ सय ६० भन्दा बढी मानिस घाइते भएका छन्। जुन २४ का दिन स्थानीय समय अनुसार साँझ ६:०४ बजे ७.२ म्याग्निच्युडको पहिलो भूकम्प गएको ठीक ३९ सेकेन्डपछि ७.५ म्याग्निच्युडको अर्को शक्तिशाली मुख्य भूकम्प गएको थियो।
याराकुई राज्यको सान फेलिप क्षेत्रलाई केन्द्रविन्दु बनाएर गएको यो भूकम्प भेनेजुएलामा विगत १२५ वर्षयताकै सबैभन्दा शक्तिशाली भएको बताइएको छ। भूकम्पका कारण राजधानी काराकास र तटीय सहर ला गुइरामा सयौँ बहुतले भवनहरू भत्किँदा व्यापक जनधनको क्षति भएको छ। संयुक्त राष्ट्रसंघका राहत प्रमुखका अनुसार भग्नावशेषभित्र अझै पनि ५० हजारभन्दा बढी मानिसहरू बेपत्ता रहेको आशंका गरिएको छ।
अहिले भूकम्प प्रभावित क्षेत्रमा जीवितै उद्धार गर्न सकिने ‘गोल्डेन विन्डो’ समयभित्र अन्तर्राष्ट्रिय उद्धार टोलीहरू तीव्र रूपमा परिचालित छन्। उद्धार कार्यलाई तीव्रता दिन संयुक्त राज्य अमेरिकाले कुकुर सहितको २५० सदस्यीय विपद् व्यवस्थापन टोली पठाउनुका साथै भेनेजुएला विरुद्धका केही प्रतिबन्धहरू फुकुवा गरेको छ।
 मुख्य अस्पतालहरू क्षतिग्रस्त भएका कारण घाइतेहरूको उपचार पार्किङ स्थलमै पाल टाँगेर भइरहेको छ भने ३० भन्दा बढी परकम्प (Aftershocks) आउने क्रम अझै जारी रहेको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) को 'पेजर'  प्रणालीले भौतिक संरचनाको कमजोर अवस्थाका कारण मृतकको कुल संख्या अझै निकै बढेर हजारौँ पुग्न सक्ने चेतावनी दिएको छ।

Related Post