नेकपामा पुनर्गठनको बहस पेचिलो, नेतृत्व परिवर्तनको विषयमा दुई धार

23 August, 2026 80 Views
नेकपामा पुनर्गठनको बहस पेचिलो, नेतृत्व परिवर्तनको विषयमा दुई धार
80

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको बहस तीव्र बन्दै गएको छ। गत वर्षको भदौमा भएको जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक परिवेशले पुरानो पार्टी संरचना र नेतृत्वको औचित्यमाथि प्रश्न उठाएसँगै नेकपाभित्र पुनर्गठनको दबाब बढेको हो।

पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल पुनर्गठनको आवश्यकताप्रति सकारात्मक देखिए पनि नेतृत्व हस्तान्तरणको विषयमा उनीहरूको धारणा फरक छ। पार्टी निर्माणमा योगदान गरेका पुराना नेताहरूलाई अपमानजनक ढंगले नेतृत्वबाट हटाएर मात्र पुनर्गठन सम्भव नहुने उनीहरूको तर्क छ। यद्यपि विगतमा पार्टी र राज्य सञ्चालनका क्रममा कमजोरी भएको उनीहरूले स्वीकार गर्दै आएका छन्।

युवा नेताहरूले भने पार्टी र जनताबीचको सम्बन्ध कमजोर हुनु, सांगठनिक संरचना अत्यधिक ठूलो हुनु, वर्गीय आन्दोलनबाट विचलित हुनु तथा नेतृत्वमा विचौलिया र माफियाको प्रभाव बढ्नुजस्ता कारणले वामपन्थी आन्दोलन कमजोर बनेको निष्कर्ष निकालेका छन्। उनीहरूले फागुनमा सम्पन्न निर्वाचनपछि पार्टी पुनर्गठन अभियानलाई थप सक्रिय बनाएका हुन्।

पुनर्गठनको पक्षमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वमन्त्री पम्फा भुसाल, शक्ति बस्नेत, चक्रपाणि खनाल तथा युवा नेताहरू युवराज दुलाल, रामप्रसाद सापकोटा, रञ्जित तामाङ, सरलसहयात्री पौडेल, माधव सापकोटा र लेखनाथ न्यौपानेलगायत सक्रिय छन्।

यद्यपि पुनर्गठनको प्रक्रिया कसरी अघि बढाउने भन्नेमा पार्टीभित्र दुई धार देखिएको छ। एउटा पक्षले वर्तमान नेतृत्वले तत्कालै मार्गप्रशस्त गर्नुपर्ने बताइरहेको छ भने अर्को पक्षले महाधिवेशनमार्फत विधि र प्रक्रियाबाट नेतृत्व तथा संरचनाको पुनर्गठन गर्नुपर्ने धारणा राखेको छ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालले भने वर्तमान नेतृत्वबाट अब वामपन्थी आन्दोलन प्रभावकारी रूपमा अघि बढ्न नसक्ने निष्कर्ष सुनाउँदै आएका छन्। उनले असारमा संयोजक प्रचण्डलाई ३६ बुँदे असन्तुष्टि पत्र बुझाउँदै पार्टी पुनर्गठनका लागि नेतृत्वले मार्गप्रशस्त गर्नुपर्ने सुझाव दिएका थिए।

शनिबार कोशी प्रदेश समितिले आयोजना गरेको पार्टी एकता तथा प्रशिक्षण कार्यक्रममा पनि खनालले पार्टी पुनर्गठनको नेतृत्व युवाले लिनुपर्ने बताएका थिए। उनले नेकपालाई पुनर्गठन र रूपान्तरण गर्न आवश्यक रहेको भन्दै युवाहरूलाई नेतृत्वका लागि अघि बढ्न आह्वान गरे।

यस्तै, पूर्वमन्त्री पम्फा भुसालले नेकपाको ठूलो सांगठनिक संरचनाप्रति असन्तुष्टि जनाएकी छन्। करिब २५ सय सदस्यीय केन्द्रीय संरचनाले कम्युनिस्ट पार्टीको प्रभावकारी संगठन निर्माण गर्न नसक्ने उनको तर्क छ। केन्द्रदेखि स्थानीय तहसम्मका समिति अत्यधिक ठूलो हुँदा नेताकार्यकर्ताबीच प्रत्यक्ष र दोहोरो संवाद कमजोर बनेको उनले बताइन्।

भुसालले विगतमा कम्युनिस्ट पार्टीसँग जोडिएको त्याग, निष्ठा र आदर्श कमजोर हुँदै गएको तथा पदप्रतिको आकांक्षा बढ्दै गएकोप्रति पनि चिन्ता व्यक्त गरेकी छन्।

यसैबीच, निर्वाचनअघि साविक नेकपा माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी, नागरिक उन्मुक्तिलगायत २५ वामपन्थी घटकसँग एकता गरेको थियो। एकताप्रति असन्तुष्टि जनाउँदै जनार्दन शर्मा, राम कार्की र सुदन किरातीलगायत केही नेता अलग भएका थिए। आधिकारिक उम्मेदवारलाई पराजित गर्न भूमिका खेलेको आरोपमा हरिबोल गजुरेल, कुलप्रसाद केसीसहित सात नेता पार्टीबाट निष्कासित भएका थिए।

निर्वाचनमा नेकपाले प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ गरी कुल १७ सिट जितेको थियो। २५ घटकको एकताबाट बनेको पार्टीको समानुपातिक मतसमेत २०७९ सालमा साविक माओवादी केन्द्रले प्राप्त गरेको ११ लाख ७५ हजारबाट घटेर ८ लाख ११ हजारमा सीमित भएको छ।

२०६४ सालको निर्वाचनमा करिब ३२ लाख लोकप्रिय मत पाएको तत्कालीन माओवादीले त्यसयता निरन्तर जनमत गुमाउँदै आएको छ। यही घट्दो जनसमर्थन, संगठनात्मक कमजोरी र नेतृत्वप्रतिको असन्तुष्टिका बीच नेकपाभित्र पुनर्गठनको बहस अहिले निर्णायक मोडतर्फ अघि बढेको देखिन्छ।

Related Post