काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको असाधारण राजनीतिक परिस्थितिमा कम्युनिस्ट शक्तिबीच सहकार्य, एकता र पुनर्गठन आवश्यक रहेको बताएका छन्। कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले राष्ट्रिय स्वाधीनता गम्भीर संकटमा परेको र विगतका राजनीतिक उपलब्धिमाथि चुनौती बढ्दै गएको दाबी गरे।
प्रचण्डले लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिमाथि विभिन्न साम्राज्यवादी तथा प्रतिक्रियावादी शक्तिको दबाब र हस्तक्षेप बढिरहेको बताए। यस्तो अवस्थामा विचार मिल्ने कम्युनिस्ट शक्तिबीच पार्टी एकता, निश्चित मुद्दामा सहमति राख्ने शक्तिबीच सहकार्य तथा शान्ति, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरबीच मोर्चा आवश्यक रहेको उनको भनाइ छ।
उनले विगतमा एउटै पार्टीमा सहयोद्धा रहेका कम्युनिस्ट नेताहरूलाई अहिलेको परिस्थितिले गम्भीर आत्मसमीक्षा गर्न बाध्य बनाएको बताए। कम्युनिस्ट आन्दोलन अहिले रक्षात्मक अवस्थामा पुग्नुका कारण खोज्दै विगतका राजनीतिक र सांगठनिक कमजोरीबारे समीक्षा गर्नुपर्नेमा उनले जोड दिए।
गत भदौ २३ र २४ गतेका घटनालाई उल्लेख गर्दै प्रचण्डले त्यसबाट ‘प्रतिक्रान्तिको भयानक विभीषिका’ देखिएको बताए। उक्त घटनाबाट समेत पाठ सिक्दै कम्युनिस्टहरूले आफ्ना गम्भीर त्रुटि पहिचान गर्नुपर्ने उनको भनाइ छ।
नेपाली जनताले पटक–पटक कम्युनिस्ट शक्तिलाई विश्वास गर्दै निर्वाचनमा ठूलो समर्थन दिए पनि प्राप्त उपलब्धि जोगाउन नसक्नु गम्भीर प्रश्न भएको उनले बताए। ‘जनताको अपार समर्थन हुँदाहुँदै पनि हामीले उपलब्धि किन जोगाउन सकेनौँ?’ भन्ने प्रश्नको जवाफ खोज्नुपर्नेमा प्रचण्डले जोड दिए।
उनका अनुसार कम्युनिस्ट नेता तथा कार्यकर्ताले मुख्य त्रुटि कहाँ भयो भन्ने निष्कर्षमा नपुगेसम्म पार्टी एकता हासिल गर्न र त्यसलाई दिगो बनाउन कठिन हुनेछ। त्यसैले आत्मसमीक्षा, सहकार्य र साझा मुद्दाका आधारमा कम्युनिस्ट शक्तिलाई पुनर्गठित गर्दै अघि बढ्नुपर्ने उनले बताए।