काठमाडौं । देशका विभिन्न जिल्लामा एक बालिकासहित ६ जना व्यक्ति मृत अवस्थामा फेला परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले आइतबार सार्वजनिक गरेको विवरणअनुसार रूपन्देही, सुनसरी, सिरहा, रुकुम पूर्व र सिन्धुलीमा गरी ६ जनाको शव फेला परेको हो।
रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ स्थित दानो नदी किनारमा शनिबार अन्दाजी ६ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन्। उनको नाम, थर र ठेगाना खुल्न सकेको छैन।
सुनसरीको इनरुवा नगरपालिका–९ का ३० वर्षीय राजाराम ऋषिदेव पनि शनिबार मृत अवस्थामा भेटिएका छन्। उनको शव संखरपुर शाखा नहरको किनारमा फेला परेको प्रहरीले जनाएको छ। यस्तै, बराहक्षेत्र नगरपालिका–९ राजाबास नोजस्थित सप्तकोशी नदी किनारमा अन्दाजी ३५ वर्षीया एक महिलाको पहिचान नखुलेको शव फेला परेको छ।
सिरहाको कल्याणपुर नगरपालिका–१२ बेल्हा चोकस्थित सडक किनारमा अन्दाजी ३४ वर्षीय एक पुरुष मृत अवस्थामा भेटिएका छन्। उनको पनि पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
रुकुम पूर्वको भूमे गाउँपालिका–८ कुचिबाङका ६० वर्षीय वीरबहादुर पुन सोही स्थानको कुचिबाङ खोलाको किनारमा शनिबार मृत अवस्थामा फेला परेका थिए।
त्यसैगरी, सिन्धुलीको मरिण गाउँपालिका–२ का ६३ वर्षीय मंगोलध्वज थिङ मरिण गाउँपालिका–३ भालुमारा मरिण खोला किनारमा आइतबार मृत अवस्थामा भेटिएका छन्।प्रहरीका अनुसार सबै घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ।