जापानमा नेपाली युवतीको रहस्यमय मृत्यु, नदीमा शव भेटिएपछि हत्या अनुसन्धान तीव्र

23 August, 2026 107 Views
जापानमा नेपाली युवतीको रहस्यमय मृत्यु, नदीमा शव भेटिएपछि हत्या अनुसन्धान तीव्र
107

काठमाडौं । जापानको फुकुओका सहरमा २५ वर्षीया नेपाली विद्यार्थी लक्ष्मी राजवंशी नदीमा मृत फेला परेपछि जापानी प्रहरीले घटनालाई हत्या भएको निष्कर्षसहित अनुसन्धान अघि बढाएको छ। अगस्ट १९ बिहान नाकागावा नदीमा उनको शव भेटिएको थियो। शव परीक्षणमा टाउको र अनुहारमा कडा वस्तुले प्रहार गरेको जस्तो धेरै चोट तथा शरीरमा प्रतिरोध गर्दा लागेको हुनसक्ने घाउ भेटिएपछि प्रहरीले हत्या आशंका बलियो बनाएको हो। उनको कोठामा समेत रगतका दाग र झडप भएको संकेत भेटिएको छ।

लक्ष्मी सन् २०२३ को मेमा विद्यार्थीको हैसियतमा जापान पुगेकी थिइन्। उनी फुकुओकाको एक विशेषज्ञ विद्यालयमा अध्ययन गर्दै र स्थानीय रेस्टुरेन्टमा पार्टटाइम काम गर्दै आएकी थिइन्। अगस्ट १८ राति करिब १०ः३० बजे उनी काम गर्ने रेस्टुरेन्टबाट साइकलमा घरतर्फ गएको अन्तिमपटक पुष्टि भएको प्रहरीले जनाएको छ।

त्यसको केही घण्टापछि, अगस्ट १९ बिहान करिब ३ बजेपछि एक चिनजानकी महिलाले लक्ष्मी सम्पर्कमा नरहेको भन्दै प्रहरीलाई खबर गरेकी थिइन्। प्रहरी उनको कोठामा पुग्दा उनी त्यहाँ थिइनन् र कोठाभित्र रगतका दाग तथा झडप भएको संकेत फेला परेको थियो। त्यसको करिब दुई घण्टापछि बिहान ५ः४५ बजे नाकागावा नदीमा उनको शव भेटिएको थियो।

प्रहरीका अनुसार शव फेला पर्दा लक्ष्मीको साथमा व्यक्तिगत सामान थिएन। उनको मृत्युको यकिन कारण भने न्यायिक परीक्षणबाट समेत खुल्न सकेको छैन। तर टाउको तथा अनुहारमा धेरै चोट र शरीरमा देखिएका अन्य घाउका आधारमा प्रहरीले घटनालाई हत्या मानेर अनुसन्धान अघि बढाएको छ।

प्रहरीले लक्ष्मीको घरको ढोका जबर्जस्ती खोलिएको वा तोडफोड भएको स्पष्ट प्रमाण भने फेला पारेको छैन। तर कोठाभित्रको रगत र झडपको अवस्थाले उनी घरमै आक्रमणमा परेको हुनसक्ने आशंकामा प्रहरीले उनको अन्तिम गतिविधि र घटनास्थलसम्मको यात्राबारे अनुसन्धान गरिरहेको छ। पछिल्लो अनुसन्धानमा उनको हातमा आत्मरक्षाका क्रममा लागेको हुनसक्ने चोटसमेत भेटिएको जापानी सञ्चारमाध्यमले जनाएका छन्।

जापानी प्रहरीले घटनाको विस्तृत अनुसन्धानका लागि ७० जनाको अनुसन्धान टोली परिचालन गरेको जनाएको छ। लक्ष्मी रेस्टुरेन्टबाट निस्किएपछि कहाँ गइन्, उनको घरमा के भयो र शव नदीसम्म कसरी पुग्यो भन्ने विषय अहिले अनुसन्धानको मुख्य केन्द्रमा छ।

Related Post