ब्रड पिकमा चार पर्वतारोही मृत फेला, दुई जनाको पहिचान

31 July, 2026 258 Views
ब्रड पिकमा चार पर्वतारोही मृत फेला, दुई जनाको पहिचान
258

काठमाडौं। पाकिस्तानको ब्रड पिकमा हिमपहिरोमा परी सम्पर्कविहीन भएका १० पर्वतारोहीमध्ये चार जनाको शव फेला परेको छ। फेला परेका शवमध्ये दुई जनाको पहिचान खुलेको छ, जसमा नेपालका पुरबहादुर गुरुङ र ओमानकी नधिरा अहमद अब्दुल्लाह अल हार्थी रहेका छन्।

पाकिस्तानी सञ्चारमाध्यम डनका अनुसार खोज तथा उद्धार अभियानका क्रममा शुक्रबार चार पर्वतारोहीको शव फेला परेको हो। अन्य दुई शवको पहिचान भने अझै खुल्न सकेको छैन।

पाकिस्तानको अल्पाइन क्लबका अनुसार हिमपहिरोमा परेको १० सदस्यीय आरोहण टोलीमा छ जना नेपाली, एक पाकिस्तानी, एक ओमानी, एक अमेरिकी र एक चिनियाँ पर्वतारोही सहभागी थिए।

अल्पाइन क्लबका महासचिव अयाज शिग्रीले डनसँग कुरा गर्दै घटनाअघि विभिन्न टोलीले संयुक्त रूपमा ब्रड पिकको चुचुरोतर्फ आरोहण सुरु गरेको बताएका छन्। उनका अनुसार केही सम्पर्कविहीन पर्वतारोहीबाट प्राप्त जीपीएस लोकेसनले हिमपहिरोले उनीहरूलाई करिब एक हजार मिटर तलसम्म बगाएको संकेत गरेको थियो।

जीपीएसबाट प्राप्त विवरणका आधारमा उद्धार टोलीले खोजी तीव्र बनाएको थियो। त्यसक्रममा चार जनाको शव फेला परेको हो। बाँकी पर्वतारोहीहरूको खोजी तथा उद्धार अभियान भने अझै जारी रहेको पाकिस्तानी अधिकारीहरूले जनाएका छन्।

Related Post