चिकित्सकमाथि आक्रमणको विरोधमा नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा

28 July, 2026 39 Views
चिकित्सकमाथि आक्रमणको विरोधमा नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा
39

काठमाडौं, साउन । चिकित्सकमाथिको आक्रमण र त्यसपछिको घटनामा प्रशासनको भूमिकाप्रति असन्तुष्टि जनाउँदै वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्। उनीहरूले प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख (एसपी)को राजीनामासमेत माग गरेका छन्।

नारायणी अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहका अनुसार अस्पतालमा कार्यरत करिब ७० चिकित्सकमध्ये करिब ४० जनाले मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहसमक्ष राजीनामा बुझाइसकेका छन्। बाँकी चिकित्सकको हस्ताक्षर संकलन भइरहेको र सबैले सामूहिक रूपमा राजीनामा दिने तयारीमा रहेको उनले बताए।

डा. सिंहका अनुसार चिकित्सकमाथि आक्रमण गर्नेहरूलाई कारबाही गर्ने विषयमा छलफल गर्न चिकित्सकहरू प्रशासनसँग वार्तामा बसेका थिए। तर, वार्ताका क्रममा प्रशासनबाट दुर्व्यवहार भएको र चिकित्सकहरूलाई नियन्त्रणमा लिने प्रयास गरिएको आरोप लगाउँदै उनीहरूले यस्तो अवस्थामा काम गर्न नसकिने निष्कर्षसहित सामूहिक राजीनामाको निर्णय गरेको बताएका छन्।

चिकित्सकहरूको आन्दोलनका कारण नारायणी अस्पतालको नियमित स्वास्थ्य सेवा प्रभावित भएको छ। उनीहरूले सुरक्षित कार्य वातावरणको सुनिश्चितता र घटनामा संलग्नमाथि कानुनी कारबाही नभएसम्म आन्दोलन जारी रहने अडान लिएका छन्।

यता नेपाल चिकित्सक संघले पनि चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र त्यसपछिको घटनाको विरोध गर्दै मंगलबार देशभर आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ। संघले दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न, चिकित्सकका लागि सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न तथा आवश्यक परे थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ।

गत साउन ८ गते वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सक डा. प्रमोद राममाथि कुटपिट हुनुका साथै स्वास्थ्यकर्मीमाथि आक्रमण र अस्पतालमा तोडफोड भएको थियो। घाइते डा. रामको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। सोही घटनाको विरोधमा देशभरका चिकित्सकहरूले ओपीडी सेवा प्रभावित पार्दै आन्दोलन जारी राखेका छन्।

Related Post