काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आगामी मंसिरअघि नै पार्टीको १५औँ महाधिवेशन सम्पन्न गरी गगन थापालाई ७१ प्रतिशत मत ल्याएर सभापति बनाउने घोषणा गरेका छन् ।
पार्टी केन्द्रीय समितिको बैठकमा सम्बोधन गर्दै शर्माले जस्तोसुकै प्रतिकूल अवस्था आए पनि महाधिवेशन समयमै गर्नुपर्ने बताएका हुन् ।
‘१५औँ महाधिवेशन मंसिरअघि नै गर्नुछ । ५१ प्रतिशत होइन, अब ७१ प्रतिशत मत ल्याएर गगन थापालाई सभापति बनाउन प्रतिबद्ध छौँ,’ शर्माले भने ।
उनले पार्टीभित्रको असन्तुष्ट समूहले आयोजना गरेको भेलाप्रति पनि टिप्पणी गरेका छन् । उक्त भेला दोस्रो ‘निन्दा सम्मेलन’ जस्तो भएको उनको आरोप छ ।
यसअघि बीपी स्मृति दिवसका अवसरमा कांग्रेसको संस्थापन पक्षप्रति असन्तुष्ट समूहले विभिन्न टिप्पणी गरेको भन्दै शर्माले अहिलेको भेला पनि त्यस्तै टिकाटिप्पणी गर्ने कार्यक्रममा सीमित भए त्यसले पार्टीलाई फाइदा नपुग्ने बताए ।
शर्माले पार्टीभित्रका मतभेद र असन्तुष्टिलाई समाधान गर्दै महाधिवेशन समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् ।