काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सार्वजनिक लेखा समितिमा गृह सचिव राजकुमार श्रेष्ठ र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि भएको व्यवहारप्रति असन्तुष्टि जनाएका छन् ।
प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा आज बोल्दै गृहमन्त्री गुरुङले आफू अनुपस्थित रहेका बेला सार्वजनिक लेखा समितिमा गृह सचिव र आईजीपीमाथि भएको व्यवहारप्रति आफ्नो ध्यानाकर्षण भएको बताए ।
‘मेरो अनुपस्थितिमा गृह सचिव र नेपाल प्रहरीका आईजीपीलाई जुन व्यवहार सार्वजनिक लेखा समितिमा भयो, त्यसमा मेरो ध्यानाकर्षण भएको छ,’ उनले भने, ‘यो राम्रो भएन । उजुरीको भरमा न्यायाधीश बन्न मिल्दैन । आरोप लगाउन पाइयो भन्दैमा चरित्र हत्या गर्न पाइँदैन । यसबारे गृह मन्त्रालयको ध्यानाकर्षण भएको छ । हामी खुसी छैनौँ ।’
गृहमन्त्री गुरुङले आईजीपी कार्कीले गरिरहेको काम आफूले प्रत्यक्ष रूपमा देखिरहेको र गृह मन्त्रालयको निर्देशनअनुसार उनी दिनरात खटिरहेको बताए ।
सार्वजनिक लेखा समितिको बैठकमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले गृह सचिव र आईजीपीमाथि गरेको व्यवहारलाई लिएर आलोचना भइरहेको छ । सोही विषयमा गृहमन्त्री गुरुङले समितिको बैठकमा असन्तुष्टि व्यक्त गरेका हुन् ।