ह्याट्रिकसँगै फ्रान्सद्वारा नर्वे ४-१ ले पराजित, समूह 'I' को विजेता बन्दै नकआउट चरणमा

27 June, 2026 549 Views
ह्याट्रिकसँगै फ्रान्सद्वारा नर्वे ४-१ ले पराजित, समूह 'I' को विजेता बन्दै नकआउट चरणमा
549

फिफा विश्वकप २०२६ को समूह 'I' को अन्तिम खेलमा फ्रान्सले नर्वेलाई ४-१ को फराकिलो गोल अन्तरले पराजित गर्दै समूह विजेताको रूपमा राउन्ड अफ ३२ (नकआउट चरण) मा आफ्नो स्थान सुरक्षित गरेको छ। 

बोस्टन स्टेडियममा भएको उक्त खेलमा फ्रान्सका स्टार स्ट्राइकर ओसमाने डेम्बेलेले खेलको पहिलो हाफमै सनसनीपूर्ण ह्याट्रिक पूरा गरे। उनले खेलको ७ औं२० औं र ३२ औं मिनेटमा उत्कृष्ट गोल गर्दै फ्रान्सलाई पहिलो हाफमै ३-१ को बलियो स्थितिमा पुर्‍याएका थिए। 

यसअघि नै अर्को चरणमा पुगिसकेको नर्वेले आफ्ना मुख्य १० खेलाडीहरू सहित स्टार स्ट्राइकर एर्लिङ हालान्डलाई आराम दिएर दोस्रो रोजाइको टोली मैदानमा उतारेको थियो। नर्वेका लागि खेलको २१ औं मिनेटमा थेलो आसगार्डले एक मात्र सान्त्वना गोल फर्काएका थिए।

दोस्रो हाफमा नर्वेले खेलमा फर्कने सुवर्ण अवसर पाए पनि सदुपयोग गर्न सकेन। खेलको ४९ औं मिनेटमा नर्वेले पाएको पेनाल्टी प्रहारलाई फ्रान्सेली गोलकिपर माइक मेइनानले उत्कृष्ट बचाउ गर्दै विफल पारिदिएका थिए।

 त्यसपछि खेलको इन्जुरी समय (९०+३ मिनेट) मा डिजायर डोइले थप एक गोल गर्दै फ्रान्सको ४-१ को सानदार जित निश्चित गरे। यो जितसँगै फ्रान्स शतप्रतिशत नतिजा निकाल्दै समूहको शीर्ष स्थानमा रहन सफल भयो भने पराजित नर्वे समूहको दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भयो।

 अब नकआउट चरणमा फ्रान्सले न्युजर्सीमा तेस्रो स्थानको टोलीसँग प्रतिस्पर्धा गर्ने सम्भावना छ भने नर्वेले जुन ३० मा डालसमा आइभोरी कोस्टको सामना गर्नेछ।

Related Post