काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीको कप्तानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रचण्डले बोलबम धार्मिक यात्राका क्रममा उत्पन्न विवाद किन दुःखद घटनामा परिणत भयो भन्ने विषयमा गम्भीर अध्ययन आवश्यक रहेको बताए। उनले घटनाका क्रममा सुरक्षा निकायको भूमिकामाथि पनि प्रश्न उठाउँदै त्यहाँ गोली चलाउनै पर्ने अवस्था थियो वा थिएन भन्नेबारे सत्यतथ्य सार्वजनिक गर्नुपर्ने धारणा राखे।
प्रचण्डले उक्त घटनाले साम्प्रदायिक सद्भावमा असर पर्ने जोखिम रहेको भन्दै यसप्रति सबै पक्ष संवेदनशील बन्नुपर्ने बताए। उनले घटनाका सबै पक्षको निष्पक्ष र विस्तृत छानबिन गरी वास्तविकता बाहिर ल्याउन तथा दोषीमाथि कानुनअनुसार कारबाही गर्न सरकारसँग माग गरे।