सप्तकोशी उर्लिँदै, बहाव २ लाख क्युसेक नाघ्यो; कोशी ब्यारेजका २४ ढोका खोलिए

07 September, 2026 119 Views
सप्तकोशी उर्लिँदै, बहाव २ लाख क्युसेक नाघ्यो; कोशी ब्यारेजका २४ ढोका खोलिए
119

काठमाडौं । पूर्वी पहाडी जिल्लामा लगातार भइरहेको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव तीव्र रूपमा बढेको छ। सोमबार दिउँसो १२ः१५ बजे गरिएको मापनअनुसार कोशी ब्यारेजमा २ लाख ७ हजार ४३५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव पुगेको सुनसरी प्रहरीले जनाएको छ।

बहाव बढेसँगै सम्भावित जोखिमलाई मध्यनजर गर्दै कोशी ब्यारेजमा रातो बत्ती बालिएको छ भने रातो झण्डासमेत फहराइएको छ। ब्यारेजका ५२ मुख्य र ४ नहरसहित कुल ५६ ढोकामध्ये हाल २४ वटा ढोका खोलिएका छन्।

प्रहरीका अनुसार सप्तकोशीको जलसतह र बहावको अवस्था निरन्तर निगरानीमा राखिएको छ। नदी तटीय तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई विशेष सतर्कता अपनाउन, सुरक्षित स्थानमा रहन र नदी किनारमा अनावश्यक गतिविधि नगर्न आग्रह गरिएको छ।

लगातार वर्षा भइरहेकाले सप्तकोशीको बहाव अझ बढ्न सक्ने सम्भावना रहेको भन्दै सम्बन्धित निकायले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध गरेका छन्।

Related Post