सुदूरपश्चिममा वर्षा जारी, तीन दिनसम्म मौसम बदली रहने

07 September, 2026 124 Views
सुदूरपश्चिममा वर्षा जारी, तीन दिनसम्म मौसम बदली रहने
124

काठमाडौँ । कैलालीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका अनुसार आगामी तीन दिनसम्म प्रदेशका अधिकांश भूभागमा मौसम बदलीसँगै वर्षाको सम्भावना रहेको छ।

कार्यालय प्रमुख इञ्जिनियर सञ्जयकुमार साहका अनुसार आजदेखि २४ गतेसम्म हिमाल, पहाड र तराईका अधिकांश क्षेत्रमा मौसम सामान्यतया बदली रहनेछ। यस क्रममा विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।

आज पहाडी तथा तराई क्षेत्रका केही स्थानमा भारी वर्षा हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन कार्यालयले आग्रह गरेको छ। दिउँसो हिमाली क्षेत्रमा थोरै तथा पहाडी र तराईका अधिकांश क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ।

राति पनि हिमाली क्षेत्रमा थोरै तथा पहाडी र तराईका केही स्थानमा मध्यम वर्षा हुनसक्नेछ। पहाडी र तराईका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको कार्यालयले जनाएको छ।

मङ्गलबार वर्षाको दायरा केही घट्ने अनुमान गरिए पनि मौसम पूर्णरूपमा खुल्ने छैन। हिमाली तथा पहाडी क्षेत्रमा थोरैदेखि धेरै स्थान र तराईका केही क्षेत्रमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। मङ्गलबार राति तीनै भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

Related Post