२ महिनापछि भारततर्फ चियाको निकासी खुल्यो, अब २०% मात्रै परीक्षण हुने

02 July, 2026 197 Views
२ महिनापछि भारततर्फ चियाको निकासी खुल्यो, अब २०% मात्रै परीक्षण हुने
197
नेपाली चिया निर्यातमा करिब २ महिनादेखि जारी भारतीय अवरोध कूटनीतिक प्रयास र चौतर्फी दबाबपछि अन्ततः हटेको छ। नेपालको अर्थोडक्स र सिटिसी चिया बोकेका ट्रकहरू काँकरभिट्टा भन्सार हुँदै भारतको पानीट्याङ्कीस्थित भारतीय भन्सारमा भन्सार जाँचपास भई निर्वाध रूपमा भारततर्फ निकासी हुन थालेका छन्। 
भारतको खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण (FFSAI) ले गत मे १ देखि नेपाली चियालाई ‘रेड-जोन’ मा राखेर प्रत्येक खेपको अनिवार्य प्रयोगशाला परीक्षण सुरु गरेपछि करिब ६० दिनसम्म निर्यात ठप्प बनेको थियो। यस अवरोधका कारण इलाम र झापाका ८० भन्दा बढी चिया उद्योगहरू बन्द हुँदा ६० हजारभन्दा बढी मजदुर र किसानको रोजीरोटी संकटमा परेको थियो। 
तर, नेपाल सरकारले सहसचिवको संयोजकत्वमा विशेष कार्यदल गठन गरी प्रधानमन्त्री स्तरबाटै निरन्तर कूटनीतिक पहल गरेपछि भारतीय पक्ष आफ्नो कडा नीति सच्याउन बाध्य भएको हो।
भारतीय अधिकारीहरूले हालै जारी गरेको नयाँ संशोधन अनुसार अब नेपालबाट जाने प्रत्येक चियाको गाडी परीक्षण गर्नु पर्ने बाध्यता हटेको छ। नयाँ व्यवस्था अनुसार भारतीय भन्सारले जोखिममा आधारित प्रणाली लागू गर्दै र्‍यान्डम रूपमा कुल निर्यातको २० प्रतिशत खेपको मात्रै नमुना परीक्षण गर्ने गरी नीति खुकुलो बनाएको छ।
यो निर्णयसँगै इलामको समल भ्याली र इलाम टी जस्ता ब्रान्डका अर्थोडक्स चियाका गाडीहरू सफलतापूर्वक भारत निर्यात भएसँगै उद्योगीहरूमा ठूलो राहत मिलेको छ। २ महिनाको रस्साकस्सीका कारण गोदाममा थन्किएको करिब १२ लाख किलो अर्थोडक्स चिया र लाखौँ किलो सिटिसी चिया अब निर्वाध रूपमा बजारमा जानेछ, जसले वार्षिक करिब ५ अर्ब रुपैयाँ बराबरको नेपाली चिया निर्यात व्यवसायलाई पुनर्जीवन दिने विश्वास गरिएको छ।

Related Post