समस्याग्रस्त सहकारीका ११ हजार बचतकर्तालाई ७१ करोड रुपैयाँ फिर्ता तथा मिलान

28 July, 2026 57 Views
समस्याग्रस्त सहकारीका ११ हजार बचतकर्तालाई ७१ करोड रुपैयाँ फिर्ता तथा मिलान
57

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले गत आर्थिक वर्षमा विभिन्न समस्याग्रस्त सहकारीका करिब ११ हजार बचतकर्ताको ७१ करोड रुपैयाँ बचत फिर्ता तथा मिलान गरेको जनाएको छ।

समितिले सार्वजनिक गरेको पछिल्लो ९१ दिने कार्यप्रगति विवरणअनुसार २१ करोड रुपैयाँ नगद फिर्ता गरिएको र ५० करोड रुपैयाँ बराबरको बचत मिलान गरी कुल ७१ करोड रुपैयाँ राफसाफ गरिएको हो। समितिका अनुसार ५ लाख रुपैयाँभन्दा कम बचत भएका बचतकर्तालाई प्राथमिकतामा राखेर रकम फिर्ता गर्ने कार्य भइरहेको छ।

शिवशिखर बहुउद्देश्यीय सहकारीका १ हजार ५०० रुपैयाँसम्म र अन्य समस्याग्रस्त सहकारीका १० हजार रुपैयाँभन्दा कम बचत भएका अधिकांश बचतकर्ताले रकम फिर्ता पाइसकेको समितिले जनाएको छ। साथै, ज्येष्ठ नागरिक, एकल महिला र प्राणघातक रोगबाट प्रभावित बचतकर्तालाई प्राथमिकतामा राख्दै पहिलो चरणमा ४८ जनालाई १२ लाख रुपैयाँ भुक्तानी गरिएको छ।

समितिले सहकारीको ऋण नतिर्ने ऋणी तथा सञ्चालकविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको पनि जनाएको छ। समितिका अनुसार ऋण असुलीका लागि बैंक खाता रोक्का, राहदानी रोक्का, कालोसूचीमा राख्ने, धितो लिलाम गर्ने तथा सरकारी सेवा–सुविधा रोक्न सम्बन्धित निकायसँग समन्वय भइरहेको छ।

समितिले ऋण मिलानका क्रममा लागू गरिएको अनिवार्य नगद दाखिला व्यवस्थामार्फत २२ करोड ८३ लाख रुपैयाँ असुल भएको जनाएको छ। साथै, २३ वटा समस्याग्रस्त सहकारीमध्ये नेपाल सहकारी वित्तीय संस्था लगायतका केही सहकारीको सम्पत्ति व्यवस्थापनका लागि कानुनी प्रक्रिया अघि बढाइएको उल्लेख गरेको छ।

समितिका अनुसार कान्तिपुर सेभिङ एन्ड क्रेडिट र गोरखा सेभिङ एन्ड क्रेडिट सहकारीका बचतकर्तालाई साउनको तेस्रो सातादेखि भुक्तानी सुरु गरिनेछ। कान्तिपुरका बचतकर्तालाई प्रतिव्यक्ति १७ हजार ९४५ रुपैयाँ र गोरखाका बचतकर्तालाई प्रतिव्यक्ति २५ हजार २४२ रुपैयाँका दरले रकम फिर्ता गरिने समितिले जनाएको छ।

समितिले चालु आर्थिक वर्षदेखि ५ लाख रुपैयाँ वा सोभन्दा कमदेखि १ करोड रुपैयाँसम्मको बचत मिलान गर्ने व्यवस्था लागू गरेको जनाएको छ। साथै, जनशक्ति अभावका बाबजुद प्रविधिको प्रयोग बढाएर बचतकर्ताको रकम फिर्ता गर्ने कार्यलाई प्रभावकारी बनाइने समितिको भनाइ छ।

Related Post