काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको घटनापछि विभिन्न स्थानमा प्रदर्शन चर्किएसँगै जिल्ला प्रशासन कार्यालयले मुख्य राजमार्ग क्षेत्र र इनरुवा बजारमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।
देवानगञ्जमा दुई समूहबीच भएको झडपका क्रममा सशस्त्र प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएपछि त्यसको विरोधमा मंगलबार विभिन्न स्थानमा प्रदर्शन भएको थियो। प्रदर्शनका क्रममा तोडफोड र आगजनी भएपछि प्रशासनले पकलीदेखि कोशी ब्यारेजसम्मको मुख्य राजमार्ग क्षेत्रमा कर्फ्यू लागू गरेको हो।
जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम इनरुवाको मुख्य बजार क्षेत्रमा पनि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेको जनाएको छ।
प्रमुख जिल्ला अधिकारी ईश्वरप्रसाद अर्यालद्वारा जारी सूचनाअनुसार कर्फ्यू अवधिभर तोकिएको क्षेत्रमा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न निषेध गरिएको छ।
यसअघि नै देवानगञ्ज क्षेत्रमा पनि कर्फ्यू लागू गरिएको थियो। प्रशासनले जिल्लाको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।