काठमाडौं । भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार आइतबार बिहान नारायणगढबाट रामनगरतर्फ जाँदै गरेको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेका ट्रक तथा कार आपसमा ठोक्किएका हुन्।
दुर्घटनामा मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१३ का २१ वर्षीय सन्देश विष्ट गम्भीर घाइते भएका थिए। दुर्घटनापछि तत्काल उद्धार गरी उपचारका लागि चितवन मेडिकल कलेज लगिएका विष्टको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकलमा सवार तनहुँको भानु नगरपालिका–७ का १९ वर्षीय पुकार श्रेष्ठ घाइते भएका छन्। उनको पनि चितवन मेडिकल कलेजमै उपचार भइरहेको छ।
दुर्घटनामा संलग्न ट्रक, कार र मोटरसाइकल तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।