काठमाडौँ । असोज ९ देखि ११ गतेसम्म भारीदेखि अति भारी वर्षाको सम्भावना देखिएपछि गृहमन्त्री सुदन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मौसम विज्ञान विभाग पुगेर जोखिम र पूर्वतयारीबारे जानकारी लिएका छन्।
बबरमहलस्थित विभागमा पुगेर दुवै मन्त्रीले महानिर्देशक अर्चना श्रेष्ठ, प्रवक्ता विभूति पोखरेललगायत मौसमविद्सँग सम्भावित वर्षा, हिमपात र त्यसबाट निम्तिन सक्ने जोखिमबारे छलफल गरेका हुन्।
विभागका अनुसार बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ। उच्च हिमाली क्षेत्रमा भने भारी हिमपातको समेत सम्भावना रहेको छ।
असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्ने पूर्वानुमान छ। कोशी, मधेस, बागमती र सुदूरपश्चिमका केही स्थानमा पनि भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
विशेषगरी लुम्बिनी र गण्डकीमा वर्षाको प्रभाव बढी पर्न सक्ने भएकाले डुबान, कटान र पहिरोको जोखिम रहेको विभागले जनाएको छ। उच्च हिमाली क्षेत्रमा हिमपातका कारण यात्रा प्रभावित हुनसक्ने भन्दै सावधानी अपनाउन आग्रह गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि अत्यावश्यक कामबाहेक टाढा र रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ। सम्भावित जोखिम भएका सडक तथा राजमार्गमा डोजर, एक्साभेटर र लोडरलगायतका उपकरण तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई भनिएको छ।
मौसम विभागले वर्षाको अवस्थाबारे नियमित सूचना अद्यावधिक गर्ने जनाएको छ। विभागको वेबसाइटमा दैनिक मौसमसम्बन्धी विवरण तथा विशेष मौसम पूर्वानुमान उपलब्ध छन्।