बिहानैदेखि पशुपतिनाथमा तीजको रौनक, व्रतालुको घुइँचो

14 September, 2026 104 Views
बिहानैदेखि पशुपतिनाथमा तीजको रौनक, व्रतालुको घुइँचो
104

काठमाडौँ । हरितालिका तीजको अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा व्रतालु तथा दर्शनार्थीको बिहानैदेखि ठूलो भिड लागेको छ।

तीजको मुख्य दिन आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलिएपछि दर्शन तथा पूजाआजाका लागि व्रतालुहरूको घुइँचो लागेको हो। बिहानैदेखि विभिन्न स्थानबाट आएका महिला भक्तजनहरू पशुपतिनाथ पुगेर पूजा–आराधना तथा दर्शन गरिरहेका छन्।

मन्दिरमा दर्शनपछि व्रतालुहरू तीजका गीतमा नाचगान गर्दै रमाइरहेका दृश्य पनि देखिएका छन्। तीजको धार्मिक आस्था र सांस्कृतिक उत्सवसँगै पशुपति क्षेत्रमा रमाइलो गर्ने तथा आफ्ना अनुभव मोबाइलमा कैद गर्नेहरूको संख्या पनि उल्लेख्य देखिएको छ।

पशुपतिनाथ परिसरमा आफन्त, साथीभाइ तथा समूहमा आएका व्रतालुहरू एकअर्काको तस्बिर तथा भिडियो खिच्न व्यस्त देखिन्छन्। विशेषगरी तीजका पोसाकमा सजिएका महिलाहरूले मन्दिर परिसर तथा आसपासका स्थानमा सेल्फी र फोटो खिच्दै तीजलाई स्मरणीय बनाइरहेका छन्।

यससँगै पशुपतिनाथ क्षेत्रमा आज धार्मिक आस्था, तीजको उल्लास र सांस्कृतिक गतिविधिको मिश्रित वातावरण देखिएको छ। देशका विभिन्न शिवालयमा समेत बिहानैदेखि व्रतालुहरूको भीड बढेको छ।

Related Post