बैतडीमा तीन वर्षमै ७५२ किशोरी आमा, बालविवाह रोकथाममा चुनौती

25 August, 2026 57 Views
बैतडीमा तीन वर्षमै ७५२ किशोरी आमा, बालविवाह रोकथाममा चुनौती
57

काठमाडौं। बैतडीमा २० वर्ष नपुग्दै आमा बन्ने किशोरीको संख्या पछिल्ला तीन वर्षमा निरन्तर बढेको तथ्यांकले देखाएको छ। स्वास्थ्य कार्यालय बैतडीका अनुसार आर्थिक वर्ष २०८०/८१ देखि २०८२/८३ सम्म जिल्लाका विभिन्न स्वास्थ्य संस्थाबाट ७५२ किशोरीले सुरक्षित प्रसूति सेवा लिएका छन्।

तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा २० वर्ष नपुग्दै आमा बन्ने किशोरीको संख्या २२१ थियो। यो संख्या २०८१/८२ मा बढेर २५८ र २०८२/८३ मा थप बढेर २७३ पुगेको छ।

स्वास्थ्य कार्यालयका सूचना अधिकारी खगेन्द्र कार्कीका अनुसार तीन वर्षको तथ्यांकले किशोरी आमाको संख्या हरेक वर्ष बढिरहेको देखाउँछ।

जानकारहरूले यस्तो अवस्थाले जिल्लामा बालविवाहको समस्या अझै कायम रहेको संकेत गर्ने बताएका छन्। बालविवाह न्यूनीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन भए पनि ग्रामीण क्षेत्रमा प्रभावकारी कार्यान्वयन हुन नसकेको उनीहरूको भनाइ छ।

बालविवाह न्यूनीकरणमा सक्रिय अभियन्ता कुन्ती भट्टका अनुसार अहिले मागी विवाहभन्दा भागी विवाहका कारण हुने बालविवाह बढ्दै गएको देखिन्छ। बालविवाह रोक्न परिवार, विद्यालय, स्थानीय तह, प्रहरी र समुदाय सबैको संयुक्त प्रयास आवश्यक रहेको उनको भनाइ छ।

नेपालको कानुनअनुसार २० वर्षभन्दा कम उमेरमा विवाह गर्न पाइँदैन। सरकारले सन् २०३० सम्म बालविवाह अन्त्य गर्ने लक्ष्य लिए पनि ग्रामीण क्षेत्रमा यसको प्रभावकारी कार्यान्वयन चुनौतीपूर्ण देखिएको छ।

स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टका अनुसार कम उमेरमा गर्भधारण र प्रसूति हुँदा आमा र बच्चा दुवैको स्वास्थ्यमा जोखिम बढ्न सक्छ। कम उमेरमा बच्चा जन्माउँदा कुपोषण, कम तौलको बच्चा जन्मिने र रक्तअल्पतालगायत समस्या देखिन सक्ने उनले बताए।

यसरी, बैतडीमा किशोरी आमाको बढ्दो संख्या बालविवाह न्यूनीकरणका लागि भइरहेका प्रयास पर्याप्त नभएको संकेतका रूपमा देखिएको छ।