एमालेको निर्वाचन पराजयका कारणमा पूर्वराष्ट्रपति भण्डारीको सदस्यता विवाद पनि समेटियो

25 August, 2026 53 Views
एमालेको निर्वाचन पराजयका कारणमा पूर्वराष्ट्रपति भण्डारीको सदस्यता विवाद पनि समेटियो
53

काठमाडौं । नेकपा एमालेको पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यदलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरणसम्बन्धी विवादलाई निर्वाचनमा पार्टीले पराजय भोग्नुका प्रमुख कारणमध्ये एकका रूपमा औँल्याएको छ।

महासचिव शंकर पोखरेलले तयार गरी कार्यदलका संयोजक रामबहादुर थापालाई बुझाएको प्रतिवेदनमा एमालेको निर्वाचन पराजयका ६ प्रमुख कारण उल्लेख गरिएको छ। प्रतिवेदनमा पार्टीभित्र देखिएको आन्तरिक विवादलाई पनि पराजयको महत्वपूर्ण कारणका रूपमा समेटिएको छ।

आन्तरिक समस्याअन्तर्गत प्रतिवेदनमा सबैभन्दा पहिले पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता विवाद उल्लेख गरिएको छ। प्रतिवेदनमा भनिएको छ, ‘पूर्वराष्ट्रपतिको पार्टी सदस्यता नवीकरणसम्बन्धी विवादले पार्टी पंक्तिमा विभाजन ल्यायो।’

एमालेकी पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णयले पार्टीभित्र व्यापक विवाद निम्त्याएको थियो। पार्टीकै ठूलो समूहले उक्त निर्णयलाई अनुचित भन्दै विरोध जनाएको थियो।

सदस्यता नवीकरण नभएकै कारण भण्डारी एमालेको एघारौँ महाधिवेशनमा सहभागी हुन पाइनन्। यद्यपि, उनको समर्थनमा तत्कालीन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले छुट्टै समूह बनाएर महाधिवेशनमा प्रतिस्पर्धा गरेका थिए।

प्रतिवेदनले महाधिवेशनमा देखिएको समूहगत प्रतिस्पर्धालाई पनि निर्वाचनमा एमालेको कमजोर प्रदर्शनको एउटा कारणका रूपमा औँल्याएको छ।

महासचिव पोखरेलले प्रतिवेदनमा उल्लेख गरेका छन्, ‘निर्वाचनको पूर्वसन्ध्यामा सम्पन्न पार्टीको ११औँ महाधिवेशनमा प्यानल बनाएर प्रतिस्पर्धा गरिँदा तल्लो तहसम्म संगठनात्मक विभाजन र गुटबन्दी थप विस्तार भयो।’

Related Post