कांग्रेसको विवाद सर्वोच्चमा पुगेपछि ‘सेटिङ’को आरोप, नेताबीच आरोप–प्रत्यारोप चर्कियो

25 August, 2026 5 Views
कांग्रेसको विवाद सर्वोच्चमा पुगेपछि ‘सेटिङ’को आरोप, नेताबीच आरोप–प्रत्यारोप चर्कियो
5

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवादलाई लिएर सर्वोच्च अदालतमा परेको रिटलाई ‘अदालत सेटिङ’सँग जोडेर प्रचार गरिएको भन्दै इतर पक्षका नेताहरूले आपत्ति जनाएका छन्।

कांग्रेसको आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा पूर्वसभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशन रोक्न माग गर्दै अदालतमा निवेदन दिएका थिए। देउवा पक्षबाट पुनः सर्वोच्चमा रिट दायर भएपछि कांग्रेसकै केही नेताहरूले अदालतमा ‘सेटिङ’ गरिएको आरोप लगाउँदै आएका छन्।

कांग्रेस केन्द्रीय सदस्य कुसुम थापाले खड्कातर्फ संकेत गर्दै अदालतका कर्मचारीदेखि न्यायाधीशसम्म ‘मिलाएको’ भन्दै हिँड्न नहुने चेतावनी दिएकी थिइन्। उनको उक्त अभिव्यक्तिप्रति सर्वोच्चमा रिट दायर गर्ने कांग्रेस नेता दीपक खड्काले आपत्ति जनाएका छन्।

खड्काले आफूले पार्टीभित्र भएका अन्यायपूर्ण घटनाविरुद्ध न्याय खोज्दै सर्वोच्च अदालतको ढोका ढकढकाएको बताएका छन्। तर, अदालतमा न्याय माग्दा उल्टै आफूलाई ‘सेटिङ’को आरोपसँग जोडेर प्रचार गरिएको भन्दै उनले त्यसलाई नियोजित कुप्रचारको संज्ञा दिएका छन्।

खड्काले जारी गरेको वक्तव्यमा सर्वोच्च अदालतमा उत्प्रेषण, प्रतिषेध र परमादेशसहित अन्तरकालीन आदेशको माग गर्दै रिट दर्ता गरिएको उल्लेख छ। उक्त रिटको दर्ता नम्बर ०८३-FN-०३२३ रहेको उनले बताएका छन्।

उनले भनेका छन्, “न्याय खोज्दा उल्टै स्वतन्त्र न्यायपालिकाको मानमर्दन हुने र अविश्वास पैदा गर्ने उद्देश्यले केही व्यक्ति तथा समूहले नियोजित रूपमा अदालत सेटिङ गरेको भन्दै मेरो समेत नाम जोडेर प्रचार गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ।”

अदालतको गरिमा कमजोर पार्ने उद्देश्यले योजनाबद्ध रूपमा यस्तो प्रचार गरिएको दाबी गर्दै खड्काले त्यस्ता गतिविधिप्रति सचेत रहन आग्रह गरेका छन्।

उनले आफूलाई न्याय र स्वतन्त्रताका लागि लड्ने व्यक्तिका रूपमा प्रस्तुत गर्दै सर्वोच्च अदालतप्रति पूर्ण विश्वास रहेको पनि बताएका छन्। “सम्मानित सर्वोच्च अदालतले न्याय दिनेमा पूर्ण विश्वस्त छु,” उनले भनेका छन्।

यता कांग्रेस नेता केदार कार्कीले पनि अदालतमा भइरहेको विवादास्पद प्रचारप्रति असन्तुष्टि जनाएका छन्। उनले सामाजिक सञ्जाल तथा मिडियामार्फत गरिने ‘मिडिया ट्रायल’का आधारमा अदालतलाई प्रभावित पार्न खोज्नु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन्।

कार्कीले भनेका छन्, “सदैँ अराजक अभिव्यक्ति र मिडिया ट्रायल गराउने केही काठमाडौंका बुद्धि व्यवसायीहरूले कन्टेन्ट बनाएर फेरि अदालतमा आक्रामक गराउनु दुर्भाग्य हो।”

उनले संस्थापन पक्षका नेताहरूतर्फ संकेत गर्दै विचार र राजनीतिक अडान स्थिर हुनुपर्ने बताएका छन्। अदालतको विषयलाई राजनीतिक प्रचार र दबाबको माध्यम बनाउन नहुने उनको भनाइ छ।

कार्कीले अदालतमा राजनीतिक शैलीको दबाब वा प्रचार प्रभावकारी नहुने भन्दै न्यायालयलाई विवादमा तान्ने प्रयास नगर्नसमेत आग्रह गरेका छन्।

कांग्रेसभित्र महाधिवेशन, पार्टीको वैधानिकता र नेतृत्वसम्बन्धी विवाद चर्किरहेका बेला सर्वोच्चमा पुगेको मुद्दालाई लिएर नेताहरूबीच आरोप–प्रत्यारोपसमेत बढेको छ। अदालतमा विचाराधीन विषयलाई लिएर सार्वजनिक रूपमा ‘सेटिङ’को आरोप लाग्न थालेपछि कांग्रेसभित्रको विवाद थप पेचिलो बनेको देखिन्छ।

Related Post