काठमाडौं । घोराही उपमहानगरपालिका–१७ का वसन्तको शुक्रबार काठमाडौं महानगरपालिका–१० शंखमूलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट मृत्यु भएको थियो। छोराको मृत्युको खबर पाएपछि उनकी ३८ वर्षीया आमा बिना कालाथोकीको शनिबार दिउँसो घरमै मृत्यु भएको परिवारले जनाएको छ।
जिल्ला प्रहरी प्रमुख एसपी दीपक श्रेष्ठका अनुसार घोराही–१७ हरिद्वारस्थित जनप्रिय टोलमा रहेकी बिनाको शनिबार दिउँसो करिब ३ बजे मृत्यु भएको हो। छोरामाथि भएको घटनाबारे जानकारी पाएपछि उनलाई मानसिक रूपमा ठूलो आघात परेको परिवारको भनाइ छ।
घटनाको जानकारी पाएपछि प्रहरी टोली तत्काल बिनाको घर पुगेको थियो। प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी मुचुल्का तयार पारेपछि उनको शव पोस्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा पुर्याएको छ। शव हाल प्रतिष्ठानकै शवगृहमा राखिएको छ।
घोराही–१७ का वडाध्यक्ष रामलौटन चौधरीका अनुसार बिनाका श्रीमान् रोमहर्ष कालाथोकी हाल मलेसियामा छन्। उनी नेपाल फर्किएपछि मात्रै पोस्टमार्टम गरिने तयारी छ।
वडाध्यक्ष चौधरीका अनुसार वसन्तको मृत्यु भएको खबर अचानक सुनाउँदा बिनालाई ठूलो मानसिक आघात परेको थियो। परिवारका अनुसार वसन्त गम्भीर बिरामी वा उपचाररत रहेको भनेर मात्रै जानकारी दिइएको भए सम्भवतः बिनाको अवस्था यस्तो नहुने थियो।
बिनाको मृत्यु भएपछि उनका ११ वर्षीय कान्छा छोरा शिशिरलाई हजुरबुबाले आफ्नो घरमा लगेर राखेका छन्।
फ्रान्स जाने तयारीमा थिए वसन्त
वसन्त फ्रान्स जाने तयारीमा काठमाडौंमा अध्ययन गरिरहेका थिए। उनी करिब पाँच–छ महिनादेखि होस्टलमा बसेर भाषा सिकाइ तथा अन्य तयारी गर्दै आएका थिए।
यसैबीच, वसन्तको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा, कलैया–३ का २० वर्षीय प्रमित पटेल र १८ वर्षीय शेखर यादव रहेका छन्।
प्रहरीका अनुसार होस्टलमा भएको विवादका क्रममा वसन्तमाथि कुटपिट तथा धारिलो हतियार प्रहार भएको थियो। आक्रमणबाट उनको टाउको, घाँटीलगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो।
अचेत अवस्थामा उद्धार गरिएका वसन्तलाई उपचारका लागि मीनभवनस्थित निजामती कर्मचारी अस्पताल लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनापछि शेखरलाई प्रहरीले काठमाडौंमै नियन्त्रणमा लिएको थियो भने फरार रहेका प्रमितलाई शनिबार दिउँसो मकवानपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।