गगन थापालाई मोहन बस्नेतको चुनौती– ‘५५ वर्षपछि राजनीति छाड्ने वाचा पूरा गर्नुस्

14 August, 2026 132 Views
गगन थापालाई मोहन बस्नेतको चुनौती– ‘५५ वर्षपछि राजनीति छाड्ने वाचा पूरा गर्नुस्
132

काठमाडौं । नेपाली कांग्रेस इतर समूहका नेता मोहनबहादुर बस्नेतले कांग्रेस सभापति गगनकुमार थापालाई आफूले यसअघि गरेको ५५ वर्षपछि राजनीति छाड्ने घोषणा पूरा गर्न चुनौती दिएका छन् ।

शुक्रबार इतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै बस्नेतले थापाले युवालाई नेतृत्वमा अवसर दिने भन्दै ५५ वर्ष पुगेपछि आफू राजनीतिबाट बाहिरिने बताएको स्मरण गराए ।

‘युवा–युवा भनेर उहाँले भन्नुहुन्छ । उहाँ ५२ वर्ष नाघिसक्नुभएको छ । गगन थापाजीले ५५ वर्ष पुगेपछि राजनीति छाड्छु भन्नुभएको छ,’ बस्नेतले भने ।

उनले नियमित निर्वाचन भए आगामी निर्वाचनसम्म थापा ५५ वर्ष नाघिसक्ने भन्दै आफ्नो पुरानो घोषणा पूरा गर्न आग्रह गरे ।

‘यदि नियमित चुनाव भयो भने अबको आउने चुनावमा उहाँ ५५ वर्ष कटिसक्नुहुनेछ । कमसेकम तपाईंले बोलेको कुरा पूरा गर्नुहुन्छ भने, युवाहरूलाई मौका दिने हो भने तपाईं सार्वजनिक रूपमा कांग्रेस कसले डोर्‍याउन सक्छ, जिम्मा लाउनुस्,’ उनले भने ।

बस्नेतले नेपाली कांग्रेस अहिले गगन थापाको नेतृत्वमा नचलेको टिप्पणीसमेत गरे । उनले पार्टीमा युवालाई अवसर दिने विषयमा थापाले आफ्नो प्रतिबद्धता व्यवहारमा देखाउनुपर्ने बताए ।

Related Post