कप्तानगञ्ज घटनाबारे प्रधानमन्त्रीले संसद्लाई जानकारी गराउनुपर्ने गोपाल शर्माको माग

30 July, 2026 56 Views
कप्तानगञ्ज घटनाबारे प्रधानमन्त्रीले संसद्लाई जानकारी गराउनुपर्ने गोपाल शर्माको माग
56

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गोपाल शर्माले प्रधानमन्त्रीले संसद् बैठकमा दिएको विवादित अभिव्यक्ति नसच्याएसम्म आफ्नो दलको विरोध जारी रहने बताएका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनले प्रधानमन्त्रीले संसद्को मर्यादा कायम गर्न नसकेको आरोप लगाउँदै विवादित अभिव्यक्ति तत्काल सच्याउन पुनः आग्रह गरे।

सांसद शर्माले लामो समयदेखि प्रधानमन्त्रीलाई उक्त अभिव्यक्ति सच्याउन आग्रह गर्दै आएको उल्लेख गर्दै त्यसो नभएसम्म संसद्मा विरोधका कार्यक्रम जारी रहने स्पष्ट पारे। उनले प्रधानमन्त्रीले संसद्को सम्मान र मर्यादा जोगाउने जिम्मेवारी पूरा गर्नुपर्ने धारणा पनि राखे।

सुनसरीको कप्तानगञ्जमा भएको घटनाले देशलाई स्तब्ध बनाएको उल्लेख गर्दै शर्माले यस्तो संवेदनशील अवस्थामा प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित भएर घटनाबारे जानकारी गराउनुपर्ने बताए। तर प्रधानमन्त्रीको अनुपस्थितिले सरकारको जिम्मेवारी र जवाफदेहितामाथि प्रश्न उठेको उनको भनाइ थियो।

उनले गृहमन्त्रीको सार्वजनिक अभिव्यक्तिप्रति पनि आपत्ति जनाउँदै सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने बताए। कप्तानगञ्ज घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहताको मृत्युको जिम्मेवारी सरकारले स्पष्ट गर्नुपर्ने माग गर्दै शर्माले विगतमा यस्ता घटनामा नैतिक जिम्मेवारीको कुरा गर्ने वर्तमान नेतृत्वले अहिले पनि त्यही मापदण्ड अपनाउनुपर्ने धारणा व्यक्त गरे।

 
 

Related Post