ओपीडी सेवा पुनः सञ्चालन, टिचिङ अस्पतालमा बिरामीको घुइँचो

30 July, 2026 26 Views
ओपीडी सेवा पुनः सञ्चालन, टिचिङ अस्पतालमा बिरामीको घुइँचो
26

काठमाडौँ । दुई दिनसम्म अवरुद्ध रहेको ओपीडी सेवा बिहीबारदेखि पुनः सञ्चालनमा आएपछि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचार गराउन आउने सेवाग्राहीको उल्लेख्य भीड देखिएको छ।

बिहानैदेखि अस्पताल परिसरमा टिकट काट्ने, चिकित्सकसँग परामर्श लिन र विभिन्न स्वास्थ्य परीक्षण गराउन आएका बिरामी तथा उनीहरूका आफन्तको चहलपहल बढेको थियो। दुई दिनदेखि उपचारका लागि पर्खिरहेका धेरै बिरामी सेवा सुचारु भएसँगै अस्पताल पुगेका हुन्।

वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत एक चिकित्सकमाथि भएको आक्रमणको विरोधमा नेपाल चिकित्सक सङ्घको आह्वानमा देशभरका सरकारी तथा निजी अस्पतालमा मंगलबार र बुधबार ओपीडी सेवा बन्द गरिएको थियो। आन्दोलनका कारण नियमित स्वास्थ्य सेवा प्रभावित हुँदा हजारौँ बिरामीले सास्ती व्यहोर्नुपरेको थियो।

बुधबार सरकार र आन्दोलनरत नेपाल चिकित्सक सङ्घबीच पाँच बुँदे सहमति भएपछि चिकित्सकहरूले आन्दोलन स्थगित गर्दै ओपीडी सेवा पुनः सञ्चालन गरेका हुन्। त्यससँगै देशभरका अस्पतालमा नियमित स्वास्थ्य सेवा क्रमशः सामान्य बन्दै गएको छ।

टिचिङ अस्पतालमा पनि ओपीडी सेवा सुरु भएसँगै उपचारका लागि आएका बिरामीको चाप बढेको अस्पताल स्रोतले जनाएको छ। अस्पतालले सेवाग्राहीलाई सहज रूपमा सेवा उपलब्ध गराउन आवश्यक व्यवस्थापन गरिएको जनाएको छ।

 
 
 

Related Post